सरकारी खर्चमा अलपत्र नेपाली कामदार फर्काउने बजेट दूतावासमा


काठमाण्डु – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिनुभएको छ ।

उहाँले सैद्धान्तिक रूपमा गत सोमबार मन्त्रिपरिषद्ले गरेको निर्णय गत बिहीबार औपचारिक रूपमा सार्वजनिक भए पनि श्रम मन्त्रालयले वैदेशिक रोजगार कोषको पैसा निकासा गर्ने निर्णय गरेसँगै व्यावहारिक प्रक्रिया सुरु भएको बताउनुभयो ।

वैदेशिक रोजगार बोर्डका अध्यक्षसमेत रहनुभएका श्रममन्त्री यादवले भन्नुभयो, “बोर्डले कल्याणकारी कोषको रकम विदेशमा रहेका दूतावासमा पैसा पठाउने निर्णय आजै (सोमबार) मात्रै गरेको छ र अब टिकट काट्ने पैसा नभएर स्वदेश आउनबाट कोही पनि वञ्चित हुनुपर्दैन । ”

मन्त्रालयले दूतावासको मागअनुसार दूतावासमा पठाएको रकमबाट सरकारको मापदण्डमा परेका व्यक्ति सरकारी खर्चमै स्वदेश फर्किन सक्ने उहाँको भनाइ छ । मन्त्री यादवले सरकारले आवश्यक खर्च दूतावासमा निकासा गर्ने व्यवस्था गरिसकेकाले विदेशमा अलपत्र श्रमिक स्वदेश फर्काउन लाग्ने हवाई टिकटबापतको खर्च र श्रमिकको विवरणसहित संलग्न गरी सम्बन्धित दूतावासले रकम निकासाका लागि बोर्डको सचिवालयमा पठाउनुपर्ने बताउनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement