सरकारको सफल वर्ष (भाग-१) : पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आशलाग्दो


काठमाडौं – तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको गठबन्धनले प्रतिनिधि सभामा झण्डै दुईतिहाइ बहुमत ल्यायो । अहिले दुवै पार्टी एकीकरण भएर नेकपा बनिसकेको छ । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दुईतिहाइ बहुमत पाएको छ । दुईतिहाइ बहुमतको सरकारप्रति सर्वसाधारणका धेरै अपेक्षा छन् ।

अपेक्षाअनुसार पहिलो वर्ष सरकारले काम गर्न नसकेको गुनासो पनि सुन्ने गरिन्छ । हालसालै शुरू भएको नयाँ वर्ष ओली सरकारको सफलताको शुरूवाती वर्ष हुने थुप्रै संकेत देखिएका छन् । ती संकेतलाई हामी क्रमशः प्रस्तुत गर्दै जानेछौं । आजको पहिलो भागमा निर्माणाधीन पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा गरौं ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामले सरकारी सक्रियता र ठेकेदार कम्पनीको इमान्दारिताले तीब्रगतिमा काम गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । लामो समयसम्म मुआब्जा बाँड्नमै रुमल्लिएको पोखरा विमानस्थलको कामले ओली सरकार बनेपछि तीब्रता पायो । पोखरा विमानस्थलले धावनमार्गको काम सकिसकेको छ । चालू वर्षभित्रै विमानस्थल निर्माण कार्य सकिने छ भने ओली सरकारको राष्ट्रिय गौरवको आयोजना निर्माण गरेको सफलतामा इँटा थपिने निश्चित भएको छ ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरण राष्ट्रिय गौरव परियोजनाका निर्देशक प्रदीप अधिकारीका अनुसार पोखरा विमानस्थल सन् २०२० भित्रै निर्माण सकिने छ भने लगत्तै विमानस्थल सञ्चालनमा ल्याउने योजनासहित तीब्र गतिमा काम भइरहेको छ । ‘कुनै ठूलो अड्चन, प्राकृतिक विपत्ति वा अरु कुनै समस्या नआएमा डेढ वर्षभित्रै निर्माण कार्य सकिन्छ,’ उनले भने । विमानस्थलको कामको गति हेर्दा विमानस्थल यसैवर्ष ओली सरकारको सफलताको सूचीमा दर्ता भइसक्ने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
ओली सरकार बन्नुअघिसम्म स्थानीय वासिन्दा र चिनियाँ ठेकेदारको विवादका कारण अनिश्चित थियो भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । नयाँ सरकार बनेपछि विवाद समाधानसँगै निर्माण कार्यले तीब्रता लियो । विमानस्थल निर्माणको ७० प्रतिशत काम सकिएको छ भने चालू वर्षभित्रै विमानस्थल सञ्चालनमा आउने लगभग निश्चित भएको छ ।

विमानस्थलको धावनमार्ग रनवे कालोपत्रे कार्य अन्तिम चरणमा पुगेको छ । धावनमार्ग निर्माण सम्पन्न भएपछि अन्तर्राष्ट्रिय स्तरका उडान भर्न सकिन्छ । आयोजना प्रमुख प्रवेश अधिकारीले वैशाखभित्र धावनमार्ग निर्माण सम्पन्न गरिने बताए । ‘बाधा अवरोध नआए अबको तीन साताभित्र रनवे निर्माण सम्पन्न हुन्छ,’ उनले भने । धावनमार्ग पूर्णरूपमा तयार भएपश्चात् आपतकालीन अवस्थामा काठमाडौंमा अवतरण हुन नसक्ने अन्तर्राष्ट्रिय उडानका विमानलाई लुम्बिनीमा अवतरण गर्न सकिने प्रमुख अधिकारीले बताए । चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि आवश्यक पर्ने प्रमाणपत्र ‘आईकाओ’बाट लिने लगायत सम्पूर्ण कार्य सन् २०१९ भित्र पूूरा गर्ने तयारी छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अंग्रेजी वर्षको पहिलो महिनाभित्रै अन्तर्राष्ट्रिय उडान भर्ने अधिकारीले बताए । प्रदेश ५ सरकारले पनि लुुम्बिनी भ्रमण वर्ष घोषणा गरेको छ । विमानस्थल निर्माण छिटो सम्पन्न गर्न सकिए लुम्बिनी आउने पर्यटन बढ्ने प्रदेश सरकारको अपेक्षा छ ।

पर्यटकलाई भित्र्याउन सहज हुने पूर्वाधारमा विमानस्थल समेत रहेकाले पोखरा र लुम्बिनी आउने पर्यटकलाई दुवै विमानस्थलबाट सुविधा मिल्नेछ । लुम्बिनी विश्वभरका बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र समेत हो । विमानस्थल निर्माण सम्पन्न हुँदा देशभर महत्त्वपूर्ण पूर्वाधार थपिने छ भने पर्यटकलाई सुविधा हुनेछ । नेपालको आर्थिक विकासमा पर्यटन व्यवसायले ठूलो हिस्सा ओगट्ने आकलन गरिएका बेला पर्यटकीय पूर्वाधार निर्माण हुँदा यसले झनै सार्थकता पाउने छ । दुवै अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालीन उपयोगिता समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement