काठमाण्डु- युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के। घोषोमसँग शिष्टाचार भेट तथा द्विपक्षीय हितका विषयमा छलफल गरेका छन् ।
भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरे ।
साथै, उक्त प्रक्रियाका कारण नेपाली श्रमिकहरूको भिसा प्रक्रिया प्रभावित नहोस् र भिसा प्रक्रिया यथावत् अगाडि बढाइयोस् भन्ने विषयमा पनि उनले अनुरोध गरे ।
हाल साउदी अरब जान तयारी अवस्थामा रहेका नेपाली श्रमिकहरू सिप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री यादवले श्रमिकहरूको रोजगारीमा कुनै अवरोध नआउने वातावरण सुनिश्चित गर्न पनि आग्रह गरे ।
उनले सिप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषयहरू द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत समाधान गरिनुपर्नेमा जोड दिए ।
राजदूतले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यस सम्बन्धमा थप जानकारी उपलब्ध गराइने जानकारी गराए ।




प्रतिक्रिया