काठमाडौँ – बन्दाबन्दीको समयमा सरकारले चैत महिनाको पूरै तलब र वैशाख महिनाको आधा अहिले र आधा पछि दिनेगरी तलब वितरण गर्नुपर्ने निर्णय गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोभिड १९ का कारण उद्योग कलकारखाना सबै बन्द हुँदा श्रमिक कामविहीन भएकाले रोजगारदाता र श्रमिक दुवै पक्षको हितमा यस्तो निर्णय गरिएको जनाएको छ ।
उद्योगी व्यवसायीले लकडाउनका कारण उद्योग व्यवसाय बन्द भएको अवस्थामा श्रमिकलाई तलब दिन नसकिने बताउँदै आएका छन । ठूलो सङ्ख्यालाई रोजगारी दिएको होटल एसोसिएसन नेपाल (हान)ले त होटलमा काम गर्ने श्रमिकलाई छ महिनासम्म १२ प्रतिशत मात्रै तलब दिने निर्णय गरिसकेको छ । कतिले श्रमिक कटौतीको प्रस्ताव गर्दा हालको असल श्रम सम्बन्धमा दरार उत्पन्न हुने सङ्केत देखिएको छ ।
उद्योग व्यवसाय नै बन्द भएका कारण श्रमिकलाई पूरै तलब खुवाउन नसक्ने अवस्था आएकाले श्रमिक कटौती गर्नुपर्ने अवस्था आएको रोजगारदाताले बताइरहेका छन् । श्रमिकको हक अधिकारको क्षेत्रमा काम गर्ने टे«ड युनियनकर्मीहरूले भने श्रमिकले खाइपाई आएको तलब तथा अन्य सुविधा कटौती गर्न नहुने अडानमा छन् ।
श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले देशमा लकडाउन सुरु (चैत ११ गते)देखि नै अत्यावश्यकबाहेकका अन्य उद्योग बन्द भएको हुँदा बन्द रहेका उद्योगमा काम गर्नेलाई चैत महिनाको पूरै र वैशाख महिनाको अहिले ५० प्रतिशत तलब दिनुपर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोजगारदाताले श्रमिकलाई वैशाख महिनाको तलब अहिले आधा मात्रै दिए पनि उद्योग खुलेपछि भने बाँकी ५० प्रतिशत दिनुपर्ने हुन्छ । ”यो समाार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया