श्रमिकको समस्या जस्ताको तस्तै


काठमाडौँ – वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी रूपमा कार्यक्रम गरिरहेका छन् तर वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित वैदेशिक रोजगार श्रम कार्यालयमा यति बेथिति छ कि एउटा व्यक्ति श्रम स्वीकृतिका लागि आठ दिनसम्म धाउनुपर्ने बाध्यता छ ।

सात दिनसम्म धाउने भुक्तभोगी हुनुहुन्छ बुटवलका हरिकृष्ण ढुङ्गाना । उहाँले श्रम स्वीकृतिका लागि एक साता निरन्तर श्रम कार्यालय धाएर मात्रै यो स्वीकृति हात पार्नुभयो । हरिकृष्ण पहिलो पटक श्रम स्वीकृति लिएर कतार जाँदै हुनुहुन्छ । समाचारमा सुने वा पढेजस्तो एक दिनमै सहज रूपमा यस्तो स्वीकृति पाउने अवस्था व्यावहारिक रूपमा कार्यान्वयनमा नभएकोमा उहाँको आक्रोश पनि थियो ।

श्रम कार्यालयमा कुन देश जाँदा के कस्ता कागजात चाहिन्छ भन्ने जानकारी दिने सूचना डेक्स वा नागरिक बडापत्र नभएकाले हरिकृष्ण जस्ता पहिलो पटक विदेश जानेले सास्ती भोग्नुपरेको छ । पछिल्लो पटकको कानुनी प्रावधानले गर्दा पुनः श्रम स्वीकृति लिएर जानेले पनि यस्तै सास्ती भोग्नुपरेको छ । अहिले त पुरानो राहदानी तथा सम्झौतापत्र पनि पेस गर्नुपर्ने व्यवस्थाले एक दिनमा हुने काममा चार दिन धाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

साउदी अरबमा १८ वर्षसम्म काम गरेको अनुभव रहेका पर्वतका विजय अधिकारीले श्रम स्वीकृति लिँदा अहिलेजस्तो सास्ती र झन्झट कहिलै नभएको गुनासो गर्नुभयो । याे समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement