उपत्यकामा ग्यास अभाव हुन नदिन ५० हजार सिलिण्डर ल्याइने

उपत्यकामा ग्यास अभाव हुन नदिन ५० हजार सिलिण्डर ल्याइने


काठमाण्डु– काठमाण्डु उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति प्रभावित भएपछि सरकारले तत्काल आपूर्ति सहज बनाउन पहल थालेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा भदौ १० गतेपछि गएको पहिरोका कारण भदौ १४ गतेदेखि काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौं आउन सकेका छैनन् ।

त्यसका कारण उपत्यकामा ग्यास आपूर्तिमा समस्या देखिएको हो ।

समस्या समाधानका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास उद्योगी तथा सम्बन्धित सरोकारवालासँग छलफल गरेको जनाएको छ ।

छलफलमा काठमाण्डुमा ग्यासको नियमित आपूर्ति कायम राख्न आवश्यक समन्वय तथा वैकल्पिक व्यवस्थाबारे विचार विमर्श भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाण्डुमा दैनिक करिब ४० हजार सिलिन्डर ग्यास खपत हुने गरेको छ ।

तर, आपूर्ति अभाव हुन नदिन ग्यास उद्योगीहरूले तत्काल ५० हजार सिलिन्डर ग्यास काठमाण्डु ल्याउने प्रतिबद्धता जनाएका छन् ।

सर्वसाधारणको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित अत्यावश्यक वस्तुको आपूर्ति नियमित बनाउन आवश्यक समन्वय र पहललाई निरन्तरता दिने मन्त्रालयले जनाएको छ ।