शशांक कोइरालाको हिन्दूराष्ट्र माग : कांग्रेसलाई पुनर्जीवन दिने अचुक सूत्र बन्ला ?


काठमाडौं – देश संविधान कार्यान्वयनको चरणमा छ । संविधान सभाबाट बनेको संविधानमा लेखिएको ‘धर्मनिरपेक्षता’लाई राजनीतिक दलहरूले ठूलो उपलब्धीका रुपमा गनाउने गरेका छन् । व्यक्तिको धार्मिक स्वतन्त्रताका लागि ‘धर्मनिरपेक्ष राष्ट्र’ ठूलो उपलब्धी भएको प्रचारवाजीबीच कांग्रेस महामन्त्री शशांक कोइराला हिन्दूराष्ट्र नेपालको पक्षमा वकालत गर्छन् । उनलाई धर्मनिरपेक्षता उपलब्धी लाग्दैन ।

कांग्रेसका निर्वाचित महामन्त्री तथा भावी नेतृत्वका दाबेदार शशांक कोइराला नै हिन्दूराष्ट्रको माग जप्न थाल्नुलाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । उनले हिन्दूराष्ट्रको विषयमा फैसला गर्न जनमत संग्रह गर्नुपर्ने बताउँदै जननिर्वाचित प्रतिनिधिको दुईतिहाई बहुमतले गरेको व्यवस्थालाई चुनौती दिइरहेका छन् । संविधानमा राखिएको धर्मनिरपेक्षता व्यवस्था कांग्रेसको संलग्नता बिना भएको चाहिँ होइन । नेपालमा पहिलो पटक अन्तरिम संविधानमा ‘धर्मनिरपेक्षता’ले प्रवेश पाएको हो ।

अन्तरिम संविधान बन्दा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । संविधान सभाबाट संविधान घोषणा हुँदा शुशिल कोइराला प्रधानमन्त्री थिए । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको शासनकालमा स्थापित धर्मनिरपेक्षतालाई अर्का कोइराला शशांकले उल्ट्याउन सक्लान् ? यो प्रश्नको जवाफ कांग्रेसको निर्णयले दिनेछ । देशलाई हिन्दूराष्ट्र बनाउनुअघि शशांकले कांग्रेसमा हिन्दूराष्ट्रको मुद्दालाई संस्थागत गर्न सक्लान् ? कांग्रेस पार्टीले नै धर्मनिरपेक्षतालाई स्वीकार गरेको अवस्थामा शशांकका अगाडि पार्टीको धारणा नै फेर्नुपर्ने चुनौती छ ।

कांग्रेसमा शशांक कोइरालाबाहेक नेताहरू हिन्दूराष्ट्रको पक्षमा खुलेर लागेको देखिँदैनन् । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका संस्थापक वीपी कोइराला पुत्र शशांकले आफ्नो मुद्दामा पार्टीभित्र समर्थन जुटाउन सक्लान् ? यो प्रश्नको जवाफमै हिन्दूराष्ट्र मुद्दाको भविष्य निर्भर गर्छ । कांग्रेस वैचारिक मन्थनदेखि नेतृत्व चयनसम्मको चरणमा प्रवेश गर्दैछ । महासमिति, केन्द्रीय समिति हुँदै कांग्रेसभित्र महाधिवेशन हुनेछन् । चार वर्षपछि हुने आमनिर्वाचितबीच शशांक कोइरालाले कांग्रेसभित्र हिन्दूराष्ट्र मुद्दालाई संस्थागत गराउनुपर्नेछ । त्यसपछि मात्रै कांग्रेसले यो मुद्दालाई आमनिर्वाचितको विषय बनाउन सक्नेछ । आमनिर्वाचनअघि संसदमा दुईतिहाई बहुमत प्राप्त कम्युनिस्ट सरकारले हिन्दूराष्ट्रको फैसला गर्न जनमत संग्रह गराउने दैखिँदैन ।

केही दिनअघि काठमाडौंमा सम्पन्न क्रिश्चियन आईएनजीओको कार्यक्रममा सरकारी सहभागितालाई लिएर आलोचना भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकारको कडा विरोध गरेका छन् । यसबीच कांग्रेसभित्र पनि सरकारको आलोचना गर्दै भावनात्मक रुपमा फाइदा लिने दाउ देखिन्छ । तर हिन्दूराष्ट्र नै बनाउनेतिर कांग्रेसमा पनि बलियो मत देखिँदैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेको कांग्रेसमा पुनर्जीवन ल्याउन पार्टीभित्र बहस भइरहेको छ । शशांकले देखेको पुनर्जीवनको बाटोमा हिन्दूराष्ट्र पनि एक हो । आगामी आमनिर्वाचनबाट हिन्दूराष्ट्रका पक्षमा दुईतिहाई समर्थन जुटाउन सके मात्रै जनमत संग्रहको विषयमा प्रवेश पाउने छ ।

कांग्रेसले हिन्दूराष्ट्र मुद्दालाई अपनाएपनि संसदमा दुईतिहाई बहुमत जुटाउन त्यति सहज देखिँदैन । हिन्दू मतदातासँग भावनात्मक रुपमा नजिक हुन भने कांग्रेसलाई केही सहज हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संविधान घोषणा हुँदादेखि नै हिन्दूराष्ट्रको मुद्दा बोक्दै आएका छन् । एक वर्षअघि सम्पन्न निर्वाचनमा हिन्दूराष्ट्र मुद्दाले राप्रपालाई खासै फाइदा दिन सकेन । राप्रपाले फाइदा उठाउन नसकेको हिन्दूराष्ट्र मुद्दा कांग्रेसमा पुनर्जीवन ल्याउने अचुक सूत्र बन्ला ? शशांक कोइरालाले सम्भावना देखेपनि त्यति सकारात्मक अवस्था देखिँदैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement