सशस्त्र प्रहरीले कसरी गरिरहेकाे छ बाढी प्रभावितकाे उद्धार ?

सशस्त्र प्रहरीले कसरी गरिरहेकाे छ बाढी प्रभावितकाे उद्धार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लाबाट जनशक्ति र उद्धार सामग्री परिचालन गरेको छ।

रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरीका युनिटबाट उद्धार सामग्रीसहितका प्रहरी कर्मचारीलाई प्रभावित क्षेत्रमा खटाइएको हो।

यससँगै तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्रीसहितका डिजास्टर रिलिफ सिस्टम (DRS) कन्टेनर समेत प्रभावित क्षेत्रमा तत्काल पुर्‍याउने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएकाको तत्काल प्राथमिक उपचारका लागि मास क्याजुअल्टी भेहिकल सहितको चिकित्सा तथा उद्धार टोली पनि प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न गाडी तथा गस्ती टोलीमार्फत साइरन बजाउने र माइकिङ गर्ने कामसमेत भइरहेको छ।

बाढी प्रभावितको उपचारका लागि नेपाल एपीएफ अस्पतालमा थप बेडको व्यवस्था गरिएको छ। आपतकालीन उद्धारका लागि परिचालित नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरको सुरक्षित उडान तथा अवतरणका लागि विभिन्न स्थानमा ल्यान्डिङ जोनसमेत तयार पारिएको छ।

रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा पुरिएका व्यक्तिको खोजीका लागि के–९ स्निफर डग सहितको सशस्त्र प्रहरी टोली परिचालन गरिएको छ। हराइरहेका नागरिकको लोकेसन पत्ता लगाउन तथा बाढीबाट भएको क्षतिको मूल्यांकन गर्न ड्रोनसमेत प्रयोग भइरहेको छ।

विस्थापित शिविरमा पानीजन्य रोग तथा हैजा फैलिन नदिन सशस्त्र प्रहरीले आपतकालीन खानेपानी शुद्धीकरण र औषधि वितरणको कामसमेत सुरु गरेको छ।

यसैबीच, भोटेकोशी तथा त्रिशूली नदीको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासि खुल्न सक्ने तथा थप बाढी आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले चिनियाँ समकक्षी सुरक्षा निकायसँग निरन्तर समन्वय र सूचना आदान–प्रदान गरिरहेको जनाएको छ।

सम्भावित थप जोखिमबारे पूर्वसूचना प्राप्त गरी क्षति न्यूनीकरण गर्न दुवै पक्षबीच समन्वय भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।