शुक्लाफाँटा र महाकाली पुल पुगे उपराष्ट्रपति पुन (फोटोफिचर)


कञ्चनपुर – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बाह्रसिंगे जनावरको विश्वमै ठूलो बथान देखिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एशियाकै दोस्रो लामो महाकाली झोलुङ्गे पुलको भ्रमण गरेका छन् । उनले बुधबार विश्वकै ठूलो घाँसेमैदान समेत मानिने शुक्लाफाँटा र महाकाली नदि माथि बनेको झोलुङ्गे पुलको भ्रमण गरेका हुन् ।

बिहीबारदेखि पर्यटकीय क्षेत्र बेदकोट ताल परिसरमा सुरु हुने बेदकोट धार्मिक पर्यटन मेला–२०७५को उद्घाटन समारोहमा सहभागी हुन कञ्चनपुर पुग्ने क्रममा उपराष्ट्रपति पुनले विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेका हुन् बेदकोट नगरपालिकाले बेदकोट भ्रमण वर्ष २०७५ अन्तर्गत बेदकोट धार्मिक पर्यटन मेला आयोजना गरेको छ ।

सुदूरपश्चिमकै पर्यटनको केन्द्र बनिरहेको झोलुङ्गे पुल भ्रमणको क्रममा उपराष्ट्रपतिलाई भीमदत्त नगरपालिकाले अभिनन्दन गरेको छ । उपराष्ट्रपति पुनले झालेङ्गे पुल वारपार गर्नुभएको थियो । झोलुङ्गे पुलले भीमदत्त र महाकाली नगरपालिकालाई जोड्ने गर्दछ । झोलुङ्गे पुलको अवलोकनपछि आयोजित अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले सुदूरपश्चिमको भ्रमण गर्न पाउँदा गौरव लागेको बताए ।

उनले शुक्लाफाँटा, महाकाली माथिको झोलुङ्गे पुल, खप्तड, घोडाघोडी यसै प्रदेशमा रहेको उल्लेख गर्नुहुँदै यी सबै सुदूरपश्चिमको समृद्धिको आधार भएको बताए । अघिल्ला समयहरुमा सुदूरपश्चिम पिछडिएको बताउनुहुँदै उनले अब सुदूरपश्चिमले समृद्ध बनेर अरु प्रदेशहरुलाई सन्देश दिनुपर्ने बताउनुभयो । उनले सुदूरपश्चिमको समृद्धिका लागि सबै पक्षले हातेमालो गर्नुपर्ने बताए ।उनको भ्रमणको क्रममा सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्ल, प्रदेशसभा सभामुख अर्जुनबहादुर थापा, प्रतिनिधिसभा सदस्य दिपक भट्ट लगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement