काठमाण्डु – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भक्तपुरस्थित खरिपाटी र बोडे होल्डिङ सेन्टरका बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका छन् ।
मन्त्री पोखरेलले सोमबार दुवै होल्डिङ सेन्टर पुगेर विद्यार्थीका लागि शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीका लागि शैक्षिक सामग्री (झोला, कापी कलम तथा अन्य) तथा खेलकुदका सामग्री (क्यारम्बोर्ड, ब्याडमिन्टन, चेस, भलिबल लगायत) वितरण गरिएको छ ।
शिक्षामन्त्री पोखरेलले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले होल्डिङ सेन्टरमा बस्दै आएका विद्यार्थीको पठनपाठनमा कुनै कठिनाई नहोेस् भन्ने कुरामा मन्त्रालय प्रतिबद्ध रहेको पनि जानकारी गराए ।
मन्त्री पोखरेलले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकहरूको सुरक्षा, स्वास्थ्य र समग्र अवस्थापनका लागि सम्बन्धित मन्त्रालयबिच प्रभावकारी समन्वय गरिने विश्वास व्यक्त गरे । मन्त्री पोखरेलले भर्नामा समस्या भएका विद्यार्थीहरूका लागि पनि मन्त्रालयको तर्फबाट आवश्यक सहजीकरण गरिने बताए ।
शिक्षा मन्त्रालय अन्तर्गतका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पदाधिकारीसहित मन्त्री पोखरेल होल्डिङ सेन्टर पुगेका हुन् । त्यहाँको अन्य आवश्यकता र थप बन्दोबस्तकीका लागि केन्द्रले आवश्यक अध्ययन तथा सहजीकरण गर्ने जनाइएको छ ।
यसैबिच होल्डिङ सेन्टरमा रहको विद्यार्थीलाई विद्यालय जान सहजताका लागि भोलि मंगलवारदेखि बसको पनि व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
यसअघि आईतबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका उच्चस्तरीय मन्त्रीहरूको टोलीले होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरी सुकुम्वासीहरूको जीवनयापन, उनीहरूले भोगिरहेका समस्या र सरकारी सुविधाको अवस्थाबारे जानकारी लिएको थियो ।









प्रतिक्रिया