काठमाण्डु – सरकारले सीमा विवादमा नेपालको अडान स्पष्ट रहेको बताएको छ ।
सोमबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विवादास्पद क्षेत्र नेपालकै भूमि भएको र यसलाई कूटनीतिक माध्यमबाट सुल्झाउन सरकार प्रतिबद्ध रहेको बताए ।
भारतले केही दिन अघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ ।
परराष्ट्र मन्त्रालयले आइतबार कूटनीतिक नोट पठाउँदै उक्त भू-भागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो । भारतले पनि जवाफ फर्काउँदै मानसरोवर जाने बाटो पुरानै विषय भएको दाबी गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकमा मन्त्रालय फुटाउने वा गाभ्ने विषयमा कुनै निर्णय नभएको पनि मन्त्री पोखरेलले बताए । मन्त्रालय घटाउने विषयमा प्राविधिक र कानुनी रुपमा छलफल भइरहेपनि अहिले नै कुन गाभ्ने भन्ने विषयमा कुनै निर्णय नभएको उनले जानकारी दिए ।




प्रतिक्रिया