काठमाण्डु- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी वर्षहरूदेखि शिक्षामा लगानी वृद्धि गर्दै जाने सरकारको योजना रहेको बताएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले भने, ‘बजेट वृद्धि गरेर मात्रै शिक्षामा सुधार हुँदैन । सरकारले शिक्षाको गुणस्तरमा पनि ध्यान दिएको छ ।’
आगामी वर्षहरूमा बजेट वृद्धि गर्दै लगिने बताउँदै उनले भने, ‘कम बजेटले शिक्षा सुधार हुँदैन भन्ने हुँदैन, तर शिक्षामा सुधार हुन केही समय लाग्ने छ, वर्तमान सरकारले शिक्षा सुधार गर्न कुनै कसर बाँकी राख्दैन ।’
मन्त्री पोखरेलले सरकारले एकजना विद्यार्थीको पनि शैक्षिक अधिकार वञ्चित नगर्ने बताए । विद्यालयमा न्यून विद्यार्थी भएको विद्यालय गाभ्न सुझाव आएको भन्दै मन्त्री पोखरलेले न्यून विद्यार्थी भएकै आधारमा विद्यालयलाई गाभेर एउटा पनि विद्यार्थीकै शैक्षिक अधिकारबाट सरकारले वञ्चित नगर्ने बताए । सांसदहरुले भौगोलिक दुरी, विद्यार्थीको संख्याको आधारमा विद्यालय गाभ्ने, तह घटाउने लगायत विषय प्रश्न उठाएका थिए ।
उनले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयको भौतिक सर्वेक्षण गरेर, विद्यार्थीको संख्याको आधारमा विस्तृत प्रतिवेदन तयार गरेर सोहीको आधारमा बजेटले सम्बोधन गर्ने बताए ।




प्रतिक्रिया