कञ्चनपुर – भारतको उत्तराखण्ड राज्यका पर्यटनमन्त्री सतपाल महाराजले भारत–नेपाल दोधाराचाँदनी सुक्खा बन्दरगाह मार्गको स्थलगत निरीक्षण गरेका छन् ।
महाराजले आईतबार सामाजिक सञ्जालमार्फत बनबसा, चम्पावतमा निर्माणाधीन ड्राई पोर्ट मार्गको स्थलगत निरीक्षण गरी निर्माण कार्यको प्रगति तथा स्थलमा विकास भइरहेका संरचना र व्यवस्थाको अवलोकन गरेको जानकारी दिए ।
उनका अनुसार भारत–नेपालबिचको व्यापारिक सम्पर्कलाई थप सहज बनाउन तथा सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधि प्रवर्द्धन गर्न ड्राई पोर्ट परियोजना महत्वपूर्ण हुनेछ ।
महाराजले उत्तराखण्डका सीमावर्ती क्षेत्रमा आधुनिक पूर्वाधारको विकासले राज्यको अर्थतन्त्र, व्यापार तथा स्थानीयस्तरमा उपलब्ध अवसरलाई थप गति दिने उल्लेख गरेका छन् ।
बन्दरगाह भारत–नेपाल सीमामा भारततर्फ चम्पावत जिल्ला र नेपालतर्फ सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरसँग जोडिनेछ । भारत–नेपालबिचको व्यापार तथा आवागमनलाई सहज बनाउने उद्देश्यले बनबसा क्षेत्रमा भूमि बन्दरगाह तथा त्यससँग जोडिने पूर्वाधार विकासका काम अघि बढिरहेका छन् ।
मन्त्री महाराजले निर्माणाधीन परियोजनाले भारत–नेपालबिचको व्यापारिक सम्बन्धलाई थप सहज बनाउनुका साथै सीमावर्ती क्षेत्रको आर्थिक गतिविधि विस्तारमा समेत योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया