काठमाण्डु – लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकार सञ्चालनको विषयलाई लिएर खटपट सुरु भएको छ ।
लुम्बिनीमा एमाले नेता चेतनारायण आचार्य र कर्णालीमा एमाले नेता यमलाल कणेल मुख्यमन्त्री छन् । दुवै मुख्यमन्त्रीले सत्ता गठबन्धनको भावना अनुरुप काम गर्न नसकेको आरोप कांग्रेसका नेताहरूले लगाएका छन् ।
कर्णालीका कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले त सरकारले आफ्नो कार्यशैली नसुधारेर समर्थन फिर्ता लिने चेतावनी प्रदेशसभा बैठकमै दिइसकेका छन् । लुम्बिनी प्रदेशमा भने कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी चुपचाप छन् । तर, कांग्रेस प्रदेश सभापछि अमरसिंह पुनले सरकारको आलोचना गरिरहेका छन् ।
संघमा कांग्रेस र एमालेको सत्ता गठबन्धन गर्ने सहमति बनेसँगै प्रदेशमा पनि भागबन्डा गर्दा कर्णाली र लुम्बिनी एमालेको भागमा परेको थियो । कांग्रेसको भागमा बागमती, गण्डकी र सुदूरपश्चिम परेको थियो ।
कोशी, गण्डकी, सुदूरपश्चिम र बागमतीमा त्यति असन्तुष्टि नदेखिए पनि लुम्बिनी र कर्णालीमा चर्को असन्तुष्टि छ ।
कांग्रेस लुम्बिनी प्रदेश सभापति पुनले सत्ता गठबन्धनको मर्म र भावना अनुसार सरकारको नेतृत्व गरेको दलले व्यहार नदेखाएको बताएका छन् । आफ्नो अनुकूलता र तरिकाले मात्रै सरकार चलाउने काम भएको पुनले बताए । लुम्बिनीमा १२ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट पाँच मन्त्री छन् ।
कर्णालीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री कँडेलले सरकारको गति बढाउन नसकेको बताए ।
कर्णालीमा कांग्रेसका चार मन्त्री छन् । कर्णाली सरकारले अहिलेको गतिमा काम गर्ने हो भने साथै बस्न नसक्ने उनको भनाइ छ । शाहीले मन्त्रीहरू कोही कसैलाई नटेर्ने भएको आरोप लगाउँदै सबै मन्त्रीहरूलाई काम लगाउने, कन्ट्रोल गर्ने काम मुख्यमन्त्रीको भए पनि त्यो काम मुख्यमनत्तीले गर्न नसकेको बताए । मुख्यमन्त्री एक्लै हिँड्न खोजेमा सरकार चल्न नसक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया