सत्ता गठबन्धनमा भागबण्डाः कुन प्रदेशमा कसको नेतृत्व ?


काठमाण्डु- कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने भएको छ । सोमबार बसेको सत्ता गठबन्धनको बैठकले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले लिने सहमति गरेको हो ।

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए । माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका थिए ।

तर, आज सत्ता गठबन्धन दलहरुबीच कर्णाली सरकारको नेतृत्व एमालेले लिने सहमित भएको हो । त्यस्तै एमालेले कोशी र गण्डकीमा पनि नेतृत्व गर्ने सहमति भएको छ ।

यता सत्ता गठबन्धनको सहमति अनुसार माओवादी केन्द्रले बागमती र लुम्बिनी प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत पाइसकेका छन् । त्यस्तै मधेस प्रदेशमा जसपा र सुदूरपश्चिमकाे नेतृत्व नागरिक उन्मुक्ति र एकीकृत समाजवादीले आलोपालो गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement