साउदीको जेलमा रहेका घर्तीलाई रिहा गर्न रोल्पाली जुटे


रोल्पा–साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको जीवन रक्षाका लागि रोल्पाका विभिन्न संघसंस्थाले सहयोग संकलन अभियानलाई तीव्र बनाएका छन् । घर्ती दुई वर्षदेखि साउदीमा जेल जीवन बिताइरहेका छन् ।

घर्तीको जिवन रक्षाका लागी काठमाडौंमा समेत रोल्पालीहरुले अभियान सुरु गरेका थिए । उपराष्ट्रपतिका छोरा एंवम् विद्यार्थी नेता दिपेश पुनको अगुवाइमा समेत सहयोग संकलन अभियानलाई तीव्र पारिएको छ ।

कम्पनीको कामको सिलसिलामा विसं २०७३ जेठ ३१ गते आफैले चलाएको ट्रकले किचेर साउदी नागरिक ओतिन बिल दिगफाको मृत्यु भएपछि घर्तीलाई साउदी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घटनापछि साउदीस्थित एक स्थानीय अदालतले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरुप दुई लाख २५ हजार साउदी रियल बुझाउनुपर्ने फैसला गरेको थियो । स्थानीय अदालतको फैसलामाथि पुनरावेदन गरी पाउं भनी साउदीस्थित नेपाली राजदूतावासले अपिल गरेको थियो । तर स्थानीय अदालतको फैसला नै सदर भएपछि घर्तीले नेपाली रुपैयां ६५ लाख बुझाउन नसके रिहा हुन नसक्ने व्यवस्था छ ।

काठमाडाँैस्थित डेस्टिनी ओभरसिज प्रालिले स्काभेटर चालकका रुपमा दिलबहादुरलाई साउदी पठाएको थियो । साउदीस्थित माजित अल दियावही कन्ट्रक्सन प्रालिले उनलाई एक्साभेटर चलाउन नदिएर ट्रक चलाउन लगाएको थियो ।

चालक अनुमतिपत्र र वर्क परमिटसमेत नभएका उनलाई कम्पनीले जबर्जस्ती ट्रक चलाउन लगाएको थियो ।

घरको आर्थिक अवस्था कमजोर रहेका दिलबहादुरको सम्पत्तिबाट उक्त रकम बुझाउन सकिने सम्भावना नभएपछि श्रीमती मनिताले जीवन रक्षाका लागि सबैसँग अपिल गर्नुभएकाले यतिबेला दिलबहादुर बचाऊ अभियानअन्तर्गत देश विदेशमा रहेका रोल्पालीले सहयोग संकलनलाई तीव्र बनाएका छन् ।

दिलबहादुर बचाऊ अभियानअन्तर्गत रोल्पा उद्योग वाणिज्य संघले जिल्लाका उद्योगी व्यापारीसंग रु एक लाख ४८ हजार संकलन गरेको अध्यक्ष विश्वकुमार चन्दले जानकारी दिनुभयो । यसैगरी रोल्पा नगरपालिकालेसमेत दिलबहादुर बचाऊ अभियानका लागि एक लाख सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement