काठमाण्डु – साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा शिव भगवानको पूजाआराधना तथा दर्शन गर्न आएका भक्तजनको भीड लागेको छ।
साउन महिना भगवान शिवको महिना मानिने हुनाले यो महिनामा पर्ने हरेक सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्छ।
साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन र विशेष पूजा व्यवस्थापनको तयारी गरिएको छ। दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषका सबै पदाधिकारी, कर्मचारीका साथै मन्दिर पहरा गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी र विभिन्न धार्मिक तथा सामाजिक संस्थाको विशेष सेवा एवं सहभागिता रहेको छ।
साउनको सोमबार पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने लाखौँ श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित, मर्यादित र व्यवस्थित वातावरणमा दर्शन तथा पूजा गराउने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ।
पशुपतिनाथ मन्दिरको चारै ढोका बिहान तीन बजेदेखि भक्तजनका लागि खुला गरिएका छन्। बेलुका आरतीपछि राति आठ बजेसम्म पशुपतिनाथ मन्दिरका ढोका भक्तजनका लागि खुला गर्ने तयारी रहेको छ। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुनेछ।
पशुपति क्षेत्रमा दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत अत्यावश्यक सबै व्यवस्था गरिएको छ। पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको लाम लागेको जनाइएको छ। यसैगरी देशभरका शिवालयमा भक्तजन पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्।




प्रतिक्रिया