अमेरिकातिर अर्थमन्त्री वाग्ले, एफएटीफको ग्रे लिस्टबारे कुरा गर्ने

अमेरिकातिर अर्थमन्त्री वाग्ले, एफएटीफको ग्रे लिस्टबारे कुरा गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा दुई दिने भ्रमणका लागि अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेका छन्।

अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्री वाग्ले नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार वासिङ्टन डीसी प्रस्थान गरेको हो।

उनले असोज १९ र २० गते हुने भ्रमणका क्रममा विश्व बैंक र अमेरिकी सरकारका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटवार्तामा द्विपक्षीय सहयोग अभिवृद्धि, नेपालको पुनर्निर्माण, वित्तीय तथा आर्थिक सुधार र वित्तीय कारबाही कार्यदल (एफएटीएफ)को ग्रे लिस्टबाट नेपालको बहिर्गमनलगायत विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ।

अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय विकास वित्त निगम (डीएफसी) का उच्च अधिकारी तथा निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्ने तयारी छ।

त्यस्तै, सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी बढाएर रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने उद्देश्यले विकास साझेदार र निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि पहल गरिने अर्थ मन्त्रालयले जनाएको छ।