काठमाण्डुका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्यो


काठमाण्डु – राजधानी उपत्यकाको काठमाण्डु महानगरपालिकाभित्रका सबैजसो सामुदायिक विद्यालयमा नयाँ विद्यार्थी भर्नाको चाप बढेको छ ।

दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय), रानीपोखरी, शिवपुरी माध्यमिक विद्यालय (महाराजगञ्ज), पशुपति मित्र माध्यमिक विद्यालय (मित्रपार्क), रत्नराज्य माध्यमिक विद्यालय (मध्यबानेश्वर), विश्व निकेतन माध्यमिक विद्यालय (त्रिपुरेश्वर), ज्ञानोदय माध्यमिक विद्यालय (वाफल), गीतामाता माध्यमिक विद्यालय (बिजेश्वरी), कोटेश्वर सरस्वती माध्यमिक विद्यालय (कोटेश्वर) मा विद्यार्थी भर्नाको चाप बढेको छ ।

शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गते भर्ना अभियान सुरु भएको छ । यो क्रम ७ गतेसम्म चल्ने जनाइएको छ ।

भित्री शहरी क्षेत्रमा भएका सामुदायिक विद्यालयमा भर्नाका लागि जनप्रतिनिधिहरू अहिले घरदैलो कार्यक्रममा छन् । अभिभावकलाई छोराछोरी नजिकको सामुदायिक विद्यालयमा भर्ना गराउन अनुरोध गर्दै उनीहरू घरघरमा गएका छन् । वडा नम्बर १८ को भक्त माध्यमिक विद्यालय (रक्तकाली) मा बालबालिका भर्ना गराउन आयोजना गरिएको प्रभातफेरीमा गएका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले भने, ‘महानगरपालिका भित्रका सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयका प्रतिस्पर्धी होइनन् । यी त पूर्वाधार, साधन, स्रोत र उपकरणजस्ता भौतिक उपलब्धता, शिक्षण सिकाइका लागि शिक्षक तालिमले गुणस्तरीय शैक्षिक क्रियाकलापमा अगाडि छन् । विद्यालयमा अहिले शिक्षा दिने मात्र होइन, सिप पनि सिकाइन्छ । प्रारम्भिक बाल विकासका कक्षाले बालमैत्री वातावरण तयार भएको छ । एकीकृत सिकाइ र शिक्षामा सीप कार्यक्रमले विद्यार्थीहरुको सिकाइको दायरा फराकिलो भएको छ ।’

वडा नम्बर २७ का अध्यक्ष योगेशकुमार खड्गी भन्छन्, ‘दरबार हाइ स्कूलमा भर्नाका लागि आवेदन दिने सबै विद्यार्थीलाई भर्ना दिन कठिन छ ।’

कोटेश्वर सरस्वती माध्यमिक विद्यालय कोटेश्वरका प्रधानाध्यापक पुष्पराज कुँवर भन्छन्, ‘दिनको कक्षामा हाम्रो क्षमता १ हजार जना विद्यार्थीका लागि हो । आजसम्ममा नयाँ ५ सय बढी विद्यार्थीको आवेदन आइसकेको छ । नयाँ आउने क्रम पनि जारी छ ।‘

गीतामाता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठ भन्छन्, ‘हामीले राखेको लक्ष्य पूरा गराउन खोजेका छौँ । यस वर्ष ४ सय थप विद्यार्थी भर्ना लिने कि भन्ने छ ।’

ज्ञानोदय माध्यमिक विद्यालयले भर्नाका लागि १ हजार ८५० वटा फाराम वितरण गरेको थियो । नयाँ भर्ना सम्बन्धी जानकारी दिँदै प्रधानाध्यापक विष्णु घिमिरे रिमाल भन्छन्, ‘हामी ५५० जना नयाँ भर्ना लिन सक्छौँ । अहिले अभिभावकहरु आएर भर्ना जसरी पनि गरिदिनुपर्छ भन्नुहुन्छ । थेग्न मुस्किल भएको छ ।’

महानगरपालिकाभित्रका ८७ वटा सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल बिकासदेखि कक्षा १० सम्म करिब ४७ हजार ६९४ विद्यार्थीलाई अध्ययन गराउने क्षमता छ । सामुदायिक विद्यालयको संख्या ८९ हो । ८९ मध्ये २ वटा पुननिर्माणको क्रममा रहेकोले ८७ विद्यालयमा भर्ना लिन सकिन्छ । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत विद्यालय छन् । रात्री र संस्कृत विद्यालयमा कक्षा ६ देखि मात्र भर्ना गर्ने गरिएको छ ।

गत शैक्षिक सत्र २०८० मा यी विद्यालयहरूमा करीब ४० हजार जना विद्यार्थीले अध्ययन गरेका थिए । यस वर्ष प्रारम्भिक बाल विकास कक्षाहरूमा ५ हजार ५१४ जना, कक्षा १ देखि कक्षा ९ सम्म थप ६ हजार ५६६ जना गरी १२ हजार ८० जना थप विद्यार्थी भर्ना गर्न सकिन्छ । विद्यालयमा उपलब्ध भौतिक संरचना, शैक्षिक सामग्री, शिक्षकको संख्या लगायत सूचकका आधारमा विद्यालयहरूबाट माग गरिएको विवरणका आधारमा यो क्षमता निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement