मन्टेश्वरी बोर्डिङ स्कूलमा झुन्डिएको अवस्थामा विद्यार्थीको शव फेला


 धनुषा – जनकपुर उपमहानगरपालिकास्थित एक विद्यालयमा आज बिहानै एक विद्यार्थी मृतावस्थामा फेला परेको छ । जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धिरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धिरेन्द्र त्यस बोर्डिङ स्कूलमा होस्टेलमै बस्ने गरेका थिए । राति होस्टेलको ग्रिलमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा उनका साथीहरुले देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराएका थिए ।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनास्थलबाट बरामद सामानहरु प्रहरीले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

प्रहरी उपरीक्षक थपलियाले घटना रहस्यमय भएको बताउँदै शव परीक्षणको प्रतिवेदन आएपछि मात्र हत्या वा आत्महत्याबारे भन्न सकिने जानकारी दिए । यसैबीच, मिथिला मन्टेश्वरी स्कूलमा विद्यार्थीको रहस्यमय मृत्यु भएपछि प्याब्सन धनुषा, एनप्याब्सन धनुषा र मधेश प्याब्सन धनुषाले एकदिने शोक बिदा घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement