ललितपुरमा पदार्थ विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू, विभिन्न देशका वैज्ञानिक सहभागी

ललितपुरमा पदार्थ विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरू, विभिन्न देशका वैज्ञानिक सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर– पदार्थ विज्ञानसम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन ‘काठमाडौं सिम्पोजिया अन एडभान्स्ड मटेरियल्स (कासाम–२०२६)’ बुधबारदेखि ललितपुरमा सुरु भएको छ।

चार दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित विभिन्न देशका वैज्ञानिक तथा अनुसन्धानकर्ताले नवीन वैज्ञानिक खोज, प्रविधि र अनुसन्धानका उपलब्धिबारे छलफल गर्नेछन्।

ललितपुरको कुपण्डोलस्थित नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा अक्टोबर २८ देखि ३१ सम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले गरेका हुन्।

नेपाल पोलिमर इन्स्टिच्युट, त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पोखरास्थित पश्चिमाञ्चल क्याम्पस र नेसनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीको संयुक्त आयोजनामा सम्मेलन भएको हो। सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, नेपालले सहयोग गरेको छ।

आयोजकका अनुसार सम्मेलनमा विभिन्न विधाका कुल १४३ अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुनेछन्।

तीमध्ये ७३ वटा मौखिक प्रस्तुति र नवोदित वैज्ञानिकहरूका ७० वटा पोस्टर शोधपत्र छन्। मौखिक प्रस्तुतिअन्तर्गत प्रमुख सम्बोधन, आमन्त्रित कार्यपत्र र विषयगत व्याख्यान समावेश छन्।

न्यानो प्रविधिदेखि हरित ऊर्जासम्म एजेन्डा

सम्मेलनमा न्यानो तथा जैविक प्रविधि, हरित ऊर्जा, आधुनिक ऊर्जा भण्डारण प्रणाली, सिमुलेसन र जैविक पदार्थसम्बन्धी नवीन अनुसन्धान प्रस्तुत गरिनेछ।

विदेशी वैज्ञानिक प्रा. डा. असा ब्राडम्यान, प्रा. डा. पिटर टिमासेभ र प्रा. डा. सातोरु सुकादासहित नेपाली वैज्ञानिक प्रा. डा. हेमराज पन्त, प्रा. डा. अमरप्रसाद यादव र डा. सुरेशकुमार ढुङ्गेललगायतले विभिन्न विषयमा आफ्ना अनुसन्धान तथा वैज्ञानिक अनुभव प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

सम्मेलनका संयोजक डा. हरिशरण अधिकारीका अनुसार उद्घाटन समारोहपछि सम्मेलनका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीको अध्यक्षतामा ‘दिगो भविष्यका लागि स्मार्ट तथा बहुउपयोगी पदार्थ’ विषयमा विशेष सत्र सञ्चालन हुनेछ।

सम्मेलनमा युवा वैज्ञानिकको भूमिका, दिगो सहर निर्माणका प्रविधि र बाँसजस्ता स्थानीय स्रोतलाई आधुनिक विज्ञानसँग जोड्ने विषयमा तीनवटा छुट्टाछुट्टै गोलमेच छलफलसमेत आयोजना गरिनेछ।

अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्यमा जोड

सम्मेलनमा नेपालसहित भारत, अमेरिका, जापान, रुस, जर्मनी र अस्ट्रेलियालगायतका देशका वैज्ञानिक सहभागी हुँदैछन्। यसले पदार्थ विज्ञान, न्यानो प्रविधि र जैविक प्रविधिसम्बन्धी अनुसन्धानमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।

सम्मेलनका सहसंयोजक डा. शंकर खतिवडाका अनुसार विभिन्न वैज्ञानिक प्रस्तुतिमार्फत नयाँ अनुसन्धान, प्रविधिको विकास र प्रयोगका सम्भावनाबारे विचार आदानप्रदान गरिनेछ।

त्यस्तै, सम्मेलनमा उत्कृष्ट अनुसन्धान तथा पोस्टर प्रस्तुतिकर्तालाई पुरस्कृत गरिनेछ। सम्मेलन सम्पन्न भएपछि सहभागी वैज्ञानिकहरूलाई मकवानपुरको चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत वैज्ञानिक अध्ययन भ्रमणमा लैजाने कार्यक्रमसमेत तय गरिएको अर्का सहसंयोजक डा. केदार ढकालले बताए।

नेपालमा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय स्रोतसाधनको वैज्ञानिक उपयोग तथा अन्तर्राष्ट्रिय प्राज्ञिक सहकार्यलाई थप विस्तार गर्ने उद्देश्य सम्मेलनले राखेको आयोजकको भनाइ छ।