दोस्रो बजारमा कारोबार १० खर्बमा सीमित, लगानीकर्ता संख्या बढ्दो

दोस्रो बजारमा कारोबार १० खर्बमा सीमित, लगानीकर्ता संख्या बढ्दो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको कारोबार रकम गत वर्षको तुलनामा झण्डै एक तिहाइले घटेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा‍‍‌‌. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आव २०८२/ ८३ को आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १० खर्ब २८ अर्ब ४७ करोड बराबरको कारोबार भएको उल्लेख छ । गत आवको सोही अवधिमा यस्तो कारोबार १४ खर्ब ६५ अर्ब ६६ करोड थियो ।

त्यस्तै औसत दैनिक कारोबार रकम पनि गत वर्षको ९ अर्ब ८३ करोडबाट घटेर ७ अर्ब ४५ करोडमा झरेको छ । कारोबार भएका धितोपत्रको संख्या २७.२ प्रतिशत र कारोबार संख्यामा २९.८ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको तुलनामा नेप्से सूचकाङ्क र बजार पुँजीकरण भने सकारात्मक छ । चालु आवको फागुन मसान्तमा नेप्से परिसूचक २८२०.४५ विन्दु कायम भएको छ, जुन गत वर्षको २७३६.४९ विन्दुको तुलनामा बढी हो ।

त्यसैगरी फागुन मसान्तसम्म कूल बजार पुँजीकरण अघिल्लो आवको सोही अवधीको तुलनामा ४.४२ प्रतिशतले वृद्धि भई ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो आवको सोही समयमा कुल बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड थियो ।

कूल जनसंख्याको २६ प्रतिशत डिम्याट खाता खुल्यो

सार्वजनिक विवरणअनुसार चालु आवको फागुन मसान्तसम्म डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ । जुन कूल जनसंख्याको २६.२ प्रतिशत हो । यो संख्या २०८२ असारसम्म ६९ लाख ९७ हजार थियो । त्यस्तै २०८२ असार मसान्तसम्म मेरो शेयर खाताको संख्या ५९ लाख ७६ हजार रहेकामा फागुनसम्म ६६ लाख १३ हजार पुगेको छ ।

दोस्रो बजारमा कारोबार गर्ने बढे

धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या बढेको छ । सार्वजनिक विवरणअनुसार चालुु आवको फागुनसम्म दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग इन लिने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४६२ रहेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या २५ लाख ४९ हजार ६९६ थियो ।