‘सुरक्षा इन्डेक्समा नेपाल १२ औं स्थान माथि उक्लियो’


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्ति सुरक्षा सुदृढ बन्दै गएको दाबी गरेका छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति सुरक्षाका हिसाबले नेपाल १२ औं स्थान माथि उक्लिएको दाबी गरेका हुन् ।

उनले विश्वका एक सय ६५ मुलुकमध्ये शान्ति सुरक्षाका दृष्टिकोणले नेपाल शान्ति सुरक्षा मजबुत भएको ७६ औं स्थानमा रहेको जिकिर गरे । ‘सुरक्षा इन्डेक्समा नेपाल १२ औं स्थान माथि उक्लिएको छ,’ ओलीले भने, ‘एक सय ६५ देश मध्ये नेपाल ७६ औं स्थानमा छ ।’

उनले शान्ति सुरक्षाका दृष्टिकोणले बंगलादेश, चीन, भारत, पाकिस्तान नेपालभन्दा तल रहेका पनि बताए ।

प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेकपातर्फ लक्षत गर्दै टावर पड्काउने, बम विष्फोट गर्ने, चन्दा अशुली गर्ने समूहलाई नियन्त्रण गरे नेपालको शान्ति सुरक्षाको अवस्था अझै मजबुत बन्ने पनि जिकिर गरे ।

‘केही टावर पड्काउने, ब्लास्ट गर्ने, चन्दा अशुली गर्नेलाई नियन्त्रण गर्दै गएका छौं,’ उनले भने, ‘नियन्त्रण गरे अझै शान्ति सुरक्षा मजबुत हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement