अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा जाँच भवन निर्माण


रसुवा – सडकमार्गबाट हुन सक्ने अवैध कारोबार नियन्त्रणमा सहज बनाउन लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा धुन्चेमा सुरक्षा जाँच भवन निर्माण गरिएको छ । उक्त कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार २० लाख रुपैयाँको लागतमा निर्मित दुईकोठे सो भवनको एक कार्यक्रमबीच रसुवाका प्रजिअ चोमेन्द्र न्यौपानेबाट शनिबार उद्घाटन भई पूर्ण रुपमा कार्य सञ्चालनमा आएको हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तैनाथ नेपाली सेनाले संयुक्त रुपमा प्रयोग गर्ने र पासाङ ल्हामु राजमार्गबाट हुन सक्ने चोरी–निकासी अवैध बस्तुको आयात-निर्यात नियन्त्रण गर्न र हिमाली पदयात्रामा आउने पर्यटकबाट प्राप्त हुने प्रवेश शुल्क बापतको राजश्व संकलन गर्नसमेत उक्त भवनले सहज बनाउने प्रमुख संरक्षण अधिकृत रेग्मीले जानकारी दिए ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको हिमाली क्षेत्रको उच्च भूभागमा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत १२ वटा सुरक्षा जाँच चौकी रहेका र तीमध्ये भूकम्पपश्चात् तीन वटा निर्माण सम्पन्न भई पाँच वटा निर्माणाधीन अवस्थामा रहेको र समयसापेक्ष सबै संरचना पिलर सिस्टमबाट निर्माण भएकाले कर्मचारी सुरक्षित तवरले बसी सेवाग्राहीलाई सेवा दिन सहज वातावरण सृजना हुँदै गएको बताइएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जले एक हजार ७१० वर्गकिमी संरक्षित र ४२० वर्गकिमी मध्यवर्ती क्षेत्रको भूभाग ओगटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement