काठमाडौं – नेपालको भिसा नीति उदार छ, सिमाना खुला छ । यही कमजोरीको फाइदा उठाउँदै अवैध शरणार्थी बढ्दै छन् । वर्षौँदेखि बस्दै आएका भुटानी र तिब्बतीबाहेक म्यानमारदेखि अफ्रिकासम्म १० देशका एक हजारभन्दा बढी अवैध शरणार्थी नेपालमा जम्मा भइसकेका छन् । कतिले तेस्रो मुलुक छिर्न नेपाललाई ट्रान्जिट बनाएका छन्, धेरैले पासपोर्ट नै फालेर स्थायी बसोवासको थलोजस्तो मानेका छन् ।
त्यसो त शरणार्थीसम्बन्धी नेपालको न कुनै कानुन छ, न त अन्तर्राष्ट्रिय महासन्धि–१९५१ मै हस्ताक्षर गरेको छ । अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर नगरेका कारण नेपाल कुनै पनि देशका नागरिकलाई शरणार्थी स्वीकार गर्न बाध्य छैन । तर, सरकार मानवताको नाताले उनीहरूप्रति नरम देखिन्छ । प्रहरीका लागि भने यो चिन्ताको विषय बनेको छ । द्वन्द्वग्रस्त देशहरूबाट छिरेका शरणार्थी आतंकवादी समूहबाट परिचालित हुन सक्ने सम्भावित खतराबाट प्रहरी चिन्तित छ । नवराज मैनालीको रिपोर्टस्
उदार भिसा नीति र खुला सिमानाका कारण नेपाल अवैध शरणार्थी ९आप्रवासी०को केन्द्र बन्दै गएको छ । विगतदेखि आश्रय लिएका भुटानी र तिब्बतीबाहेक कुनै पनि देशका शरणर्थीलाई प्रश्रय नदिने सरकारको नीति भए पनि म्यानमारदेखि अफ्रिकासम्मका अवैध शरणार्थीको संख्या बढ्दै गएको छ । यसले देशको सुरक्षामै खतरा बढेको भन्दै प्रहरी चिन्तित छ ।
अहिले १० देशका हजारभन्दा धेरै अवैध शरणार्थी नेपालमा बस्दै आएका छन् । खासगरी, तेस्रो मुलुक जानका लागि द्वन्द्वग्रस्त देशका नागरिकले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएका छन् । तर, अवैध शरणार्थीको समस्या समाधानका लागि सरकारले कुनै योजना बनाएको छैन ।
बाँकी भुटानी शरणार्थी के गर्ने ?
नेपालमा हाल ६ हजार पाँच सय १८ भुटानी शरणार्थी छन् । उनीहरू झापा र मोरङका शिविरमा बस्दै आएका छन् । १९ जना भने शिविरबाहिर बस्दै आएको गृह मन्त्रालयको तथ्यांक छ ।
नेपालबाट एक लाख १३ हजार पाँच सय ४८ भुटानी शरणार्थी विभिन्न देशमा पुनस्र्थापन भइसकेका छन् । सबैभन्दा धेरै अमेरिकामा ९६ हजार एक सय ६७ पुगेका छन् । त्यस्तै, अस्ट्रेलियामा सात हजार तीन सय १५, क्यानडामा ६ हजार आठ सय ३८, न्युजिल्यान्डमा एक हजार ९६, डेनमार्कमा आठ सय ७५, नर्वेमा पाँच सय ७०, बेलायतमा तीन सय ५८ तथा नेदरल्यान्ड्समा तीन सय २९ जनाको पुनस्र्थापना भएको छ ।
अहिले सबै देशले पुनस्र्थापना कार्यक्रम बन्द गरिसकेका छन् । अस्ट्रेलियाले आफूले लगिसकेका परिवारका व्यक्ति नेपालमै भए जान छुट दिएको छ, जसअनुसार हालसालै दुई सय ९१ भुटानी शरणार्थी अस्ट्रेलिया पुगेका हुन् । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।




प्रतिक्रिया