सुरक्षाका विषयमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री थापा


चितवन – गृहमन्त्री रामबहादुर थापाले सुरक्षाका विषयमा सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको आज उद्घाटन गर्दे मन्त्री थापाले जनताको शान्तिसुरक्षाका लागि सरकार दृढ रहेको बताए ।

शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि इलाका स्तरको प्रहरी कार्यालय स्थापना गर्न सकारात्मक रहेको भन्दै उनले उद्योगको विकासबाट नै देशमा समृद्धि कायम हुने बताए । जनता स्वस्थ रहे नै देशले समृद्धि हासिल गर्ने भन्दै मन्त्री थापाले स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि गर्दै लैजानुपर्ने बताए ।

नेपालमा स्तरीय स्वास्थ्य सेवा दिन सके उपचारका लागि विदेशी समेत आउन सक्ने भन्दै उनले उच्चस्तरको स्वास्थ्य सेवामा जोड दिनुपर्ने बताए । मन्त्री थापाले कालिका नगरपालिकामा २५ श्ययाको अस्पताल स्थापनाका लागि पहल गर्ने बताए ।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले मन्त्री थापालाई २३ बुँदे माग प्रस्तुत गरेका थिए । यसअघि गृहमन्त्री थापाले खैरहनी नगरस्तरीय क्रिकेट प्रतियोगिताको खैरहनी गौचरनमा उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement