नम्बरले जीवनको सफलता निर्धारण गर्दैन


अनुषा स्वाँर
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको छ । यस वर्ष चार लाख ६० हजार बढी विद्यार्थी एसईईमा सहभागी भएका थिए।

१० कक्षाको अन्तिममा लिइने परीक्षामा कसैलाई पनि अनुत्तीर्ण नगराउने नीति अवलम्बन गरिएपछिको यो तेस्रो नतिजा हो भने एसएलसी डिग्रीलाई एसईईमा रूपान्तरण गरिएपछिको दोस्रो हो । सबै परीक्षार्थी उत्तीर्ण हुँदैमा माध्यमिक शिक्षामा सुधार भइसक्यो भन्ने अर्थ लाग्दैन ।

विद्यार्थीले समग्रमा ल्याएको जीपीए र विषयगत ग्रेड शैक्षिक गुणस्तर सुधार गर्न सरकार, विद्यालय, अभिभावक र विद्यार्थीका लागि महत्त्वपूर्ण पाठ हो ।

शिक्षा जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ज्ञान हो । असल र खराब छुट्टयाउन सक्ने, विवेक प्रदान गर्ने, सही निर्णय लिन सक्षम बनाउने, व्यक्तिको व्यवहारलाई अनुकरणीय र आर्दश बनाउने, मानवता र नैतिकताको प्रस्फुटन गराउने, इच्छानुरूपको प्रतीभा विकासमा टेवा पुर्‍याउने आदि कार्य शिक्षाले नै गर्दछ ।

शिक्षाले व्यक्तिलाई विविध पक्षमा आर्दश बनाउँदछ । मान्छेलाई सम्पूर्ण विकास गराएर सत्मार्गतर्फ उन्मुख गराउँदछ । शिक्षाले मान्छेको इच्छा अनुरूपको प्रतीभालाई मलजल गरी भविष्यमा त्यही प्रतीभाले नै मान्छेलाई महान बनाइदिन्छ । यसर्थ, शिक्षा प्रतीभारूपी वीजको लागि अनुकूल हावापानीमा अवस्थित उर्वर भूमि हो ।

पुस्तकको गहन अध्ययनबाट, कसैको जीवनी, क्रियाकलाप आदिबाट अनुकरणीय शिक्षा हासिल गर्न सक्दछौं । हामीले प्रत्येक कुराको सुक्ष्मातिसुक्ष्म पक्षको अवलोकन गरेर पनि ज्ञान आर्जन गर्न सक्दछौं । इच्छा र खुबी भएमा प्रत्येक कुराबाट हामीले सही शिक्षा आर्जन गर्न सक्दछौं । शिक्षा प्राप्त गरेको व्यक्तिको व्यक्तित्व आदर्श हुन्छ । तसर्थ, शिक्षा आदर्श व्यक्तित्व भएको व्यक्तिलाई जन्माउने प्रक्रिया हो ।

अहिले कुरा गरौं– सबैभन्दा पहिले त सबै एसईई उत्तीर्ण हुनु भएका सबै भाइबहिनीमा बधाई तथा प्रगतिको शुभकामना । यो परीक्षामा जसले कुनै पनि कारणबस धेरै अंक ल्याउन नसकेका भाइबहिनीहरूले निराश हुनुपर्ने कुनै कारण छैन । किनकि, तपाईले निराश भएर होइन्, अझै मिहिनेत गरेर अगाडिको पढाईमा सफलता प्राप्त गर्नुपर्नेछ ।

एसईई परीक्षाफलपछि कतिको घरमा खुसीयाली छाएको छ– उत्कृष्ट अंकमा सफल भएकोमा । कतिपयको घरमा केही निराशा, केही दु:ख महसुस भएको होला– कम अंक ल्याएकोमा । तर, तपाईले कहिल्यै पनि नसोच्नुस् कि तपाईंले प्राप्त गरेको ग्रेडले तपाईंको जीवनको सफलताको मूल्याकंन गर्दैन, तपाईको व्यवहार, सोच र तपाईको काम अनि एउटा असल व्यक्तित्वले गर्छ ।

परीक्षामा कम अंक वा ग्रेड आयो भन्दैमा कतिपय विद्यार्थीका अभिभावकले अब समाजमा के मुख देखाउने भन्नेसम्म गर्दछन् । एक पटक सोच्नुहोस– तपाईंको छोराछोरीले मिहिनेत त गरेको हो नि । अनि, तपाईले पनि उसको त्यो मिहिनेतमा के साथ दिनु भएकै हो ? ज्ञान प्रतिस्पर्धाको लागि होइन्, ज्ञान हरेकले आर्जन गर्ने विषय हो ।

कोही पनि बच्चा भविष्यमा कस्तो बन्छ भन्ने उसको परिवारबाट थाहा हुन्छ । कतिपय अभिभावकले त रातदिन पढ, पढ मात्र भन्छन् । तर के तपाईंले सोच्नु भएको छ, तपाईंको व्यवहार र सोचले तपाईको छोराछोरीमा कस्तो असर परिरहेको छ ? उनीहरूलाई दवावमा होइन् माया र राम्ररी समय तालिका बनाएर पढाईका साथै उनीहरूको जीवनमा अघि बढ्न प्रेरित गर्नुपर्छ । तपाईले जति समय आफ्नो परिवार तथा छोराछोरीलाई समय, साथ र विश्वास दिनुहुन्छ, त्यत्तिनै तपाईंको परिवारमा खुसीयाली रहिरहन्छ ।

तपाईले अरूका छोराछोरीले धेरै नम्बर ल्याए, तैले कम ल्याइस् भनेर आफ्नो छोराछोरीसँग जतिबेला पनि गुनासो गर्नु उचित होइन् । जीवनमा जीतहार भइरहन्छ । सबै जना सधैं सफल हुँदैनन् । असफलताले सफलताको मार्ग कोर्दछ भन्ने सर्वकालीक भनाई हो ।

जीवनमा पढाई सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । यसले मानिसलाई ज्ञान, विवेक, क्षमता, दक्षता दिन्छ । सभ्यता सिकाउँछ । समाज र मुलुकको विकासमा सहभागी बन्नका लागि सधैं प्रेरित गर्छ । तर, पढाईका क्रममा परीक्षामा धेरैं नम्बर आउँदैमा मस्तले खान पाइने अथवा थोरै नम्बर आउदैमा भोकै बस्नु पर्ने होइन् ।

जिल्ला, क्षेत्र या बोर्ड टपर कालान्तरमा त्यही नम्बरको बोझले थिच्दै डल्लो परेका मान्छे पनि हाम्रै वरिपरि देख्न सक्छौं । त्यसैले अभिभावकले सन्तानले धेरै नम्बर ल्याएका भए हुन्थ्यो भनेर कहिले नसुनाउनुहोस् । नम्बर भन्दा महत्त्वपूर्ण कुरा हो– उनीहरू जीवनको दौडमा आफ्नै खुट्टाले दौडिन सक्षम भए कि भएनन् ? सन्तानलाई नम्बर ल्याउनेका लागि यन्त्र नबनाउनुहोस् ।

अनि, छोराछोरीलाई सधैं प्रतिस्पर्धामुखी मानसिकताको शिकार नबनाउनुहोस् । बरु आफ्ना छोराछोरीलाई असल मान्छे बन्न सिकाउनुहोस् । भोकको अर्थ र श्रमको महत्त्व सिकाउनुहोस् ।

विश्वका महान व्यक्तित्वले जीवनमा कतिपय अवस्थामा असफलता प्राप्त गरेका छन् । नोबेल पुरस्कार विजेता महान साहित्यकार रवीन्द्रनाथ टैंगोर माध्यमिक विद्यालय परीक्षामा धेरै पटक फेल भएका थिए । खानका लागि भिख माग्ने बालक महान कलाकार चार्ली च्याप्लिन बने । त्यसैले तपाईले पनि साहस गर्नुस्, असफलताबाट कहिल्यै पनि नआत्तिनुस् ।

किनकि तपाईंले एसईईमा प्राप्त गरेको नम्बरले तपाईंको जीवनको सफलताको निर्धारण गर्दैन । विश्वका सफल र महान व्यक्तित्वहरूले जीवनमा अनेक संघर्ष गरेका छन् । चाप र ताप पाएर मात्र कोइला हिरा बन्छ । अँध्यारो रात बितेपछि मात्रै उज्यालो आउँछ ।

जीवनमा संघर्ष, मिहिनेत गर्न अनेक बहाना बनाएर पन्छिनेहरू कहिल्यै सफल हुन सक्दैनन् । क्षणिक सोचाई, कायरता, अल्छी प्रवृत्ति, कामबाट पन्छिने मानसिकता आदि असफलताका कारण हनु् । किनकि, तपाई बाहेक तपाईंको सपनालाई कुल्चिन सक्ने अर्को व्यक्ति हुँदैन ।

तपाईं आफूले “म सक्छु” भन्ने सधैं सोच्नु हुन्छ भने तपाईको सपनालाई छेक्ने ताकत तपाई आफैं बाहेक यो संसारमा अरू कसैमा पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement