यो वर्ष एसईई नहुने


काठमाडौं – सरकारले गत चैतमा हुनुपर्ने माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा नगर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयपछि एसईईको तयारीमा रहेका ४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण हुने भएको छ ।

ऊर्जामन्त्री वर्षमान पुनले एसईई परीक्षा यस वर्ष नगर्ने निर्णय भएको जानकारी दिए । उनले राजधानीसँग भने, ‘आन्तरिक मूल्यांकनलाई मान्यता दिने निर्णय भएको छ । यो वर्ष एसईई परीक्षा हुँदैन ।’

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको हो । योसँगै विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् । सो अंकका आधारमा नतिजा सार्वजनिक हुनेछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसइई) हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण प्रस्ताव गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डले यसअघि ६ चैत २०७६ देखि माध्यमिक शिक्षा परीक्षाको तालिका सार्वजनिक गरेको थियो । तर, सरकारले कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । अहिले २ हजार बढी विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन् । विद्यार्थीमा परीक्षा सञ्चालन सन्दर्भमा अन्योलता छाएको थियो ।

परीक्षा सञ्चालनका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने सबै प्रश्नपत्र जिल्ला जिल्लामा पु¥याइएको थियो । शिक्षा मन्त्रालयले आन्तरिक मूल्यांकन, प्रदेशगत रूपमा परीक्षा लिने वा विद्यमान कानुनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिनेलगायत विकल्प पेस गरेको थियो । ती विकल्पमाथि मन्त्रिपरिषद्मा छलफल भएको थियो ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement