काठमाण्डु – दक्षिण एशियाको ‘एशियन टाइगर’ भनेर चिनिने बंगलादेश अहिले चरम राजनीतिक संकटमा फसेको छ । आइतबारको सनसनीपूर्ण घटनाक्रमसँगै प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शक्तिशाली शासन ढलेको मात्रै छैन, उनी देश छोडेर भाग्नुपर्ने अवस्था सृजना भएको छ ।
१५ वर्षदेखि लगातार सत्तामा रहँदै आएकी हसिनाको सत्ता ढले पति अहिले त्यहाँ नोबेल पुरस्कार विजेता मुहम्मुद युसुफलाई अन्तरिम सरकारको प्रधानमन्त्रीका लागि प्रस्ताव गरिएको छ ।
हसिनामाथि निरंकुश बनेको आरोप विपक्षीहरूले लगाउने गरेका छन् । विपक्षीमाथि दमन गरेको, चुनावमा धाँधली गरेको, अभिव्यक्तिको स्वतन्त्रता संकुचित गरेको र आफ्नो माग लिएर आवाज उठाउने जनतामाथि बल प्रयोग गरेर राज्य आतंक मच्चाएको आरोप हसिनामाथि छ ।
अन्ततः जनतामा असन्तोष र विद्रोह जागेपछि जस्तोसुकै शक्तिशाली सरकार पनि सडक आन्दोलनकै बलमा ढल्दो रहेछ भन्ने सन्देश हसिनाको बहिर्गमनले दिएको छ । बंगलादेशमा सडकबाटै दुई तिहाइ बहुमतको सरकार ढलेपछि दक्षिण एसियामा पनि तरंग उत्पन्न भएको छ ।
गत जुलाइदेखि चर्केको विद्यार्थी आन्दोलनमा करिब तीन सय जनाको ज्यान गएपछि आन्दोलनको ज्वाला यसरी दन्कियो कि अन्तिम घडीमा त्यहाँको राष्ट्रिय सेनाले पनि सरकारको साथ छाड्यो । र, अन्ततः सन् १९७५ मा परिवारका सबै सदस्य मारिएपछि राजनीतिमा होमिएकी एक शक्तिशाली शासकको राजनीतिक अवसान हुन पुग्यो ।
आन्दोलनले सरकारलाई निस्तेज पारेपछि अन्नतः हसिना हेलिकोप्टर चढेर भारततिर भागिन् । भनिन्छ, उनी अहिले भारत सरकारकै संरक्षणमा छिन् । भारतमै उनी लुकेर बसेकी बताइन्छ ।
बंगलादेशको ३५० सदस्यीय संसदमा हसिना सभापति रहेको अवामी लिगको एक्लै २७१ सिट छ । यो भनेको दुईतिहाइभन्दा २७ सिट बढी हो । जबकि विपक्षीसँग ७९ सिटमात्रै छ । बंगलादेशमा ३५० सदस्यीय संसदमा ३०० सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने ५० सिटमा समानुपातिक एवम् आरक्षणबाट चुनिने संवैधानिक व्यवस्था छ ।
सडकबाटै हसिना सत्ताच्युत भएका कारण अब उनको दलसँग रहेको दुई तिहाइको कुनै हिसाब–किताब छैन । किनभने, अब बंगलादेशको सत्ता उनको हातबाट गुमेको छ ।
हसिना सरकार ढलेपछि अब ‘एशियाको टाइगर’ मानिँदै आएको बंगलादेशको आर्थिक समृद्धि र शान्तिको यात्रामा प्रश्नचिन्ह लागेको छ । लोकतन्त्रमाथि सैन्यकरण र धार्मिक एवम् जातीय अतिवादी खतरा अरु बढ्ने हो कि भन्ने चिन्ता देखिएको छ । किनभने, जननिर्वाचित सरकार ढलेपछि विपक्षी दलहरूले सरकारको नेतृत्व सम्हाल्न नसकेर सेना हाबी भएको छ । यसले त्यहाँको लोकतन्त्रलाई थप खतरामा पार्ने विश्लेषण गरिदैछ ।
प्रधानमन्त्री हसिना विश्वकै सर्वश्रेष्ठ शक्तिशाली महिलाको सूचीमा पनि थिइन् । सन् २०१६ मा फोब्स पत्रिकाले विश्वका १०० जना शक्तिशाली महिलाको सूची प्रकाशित गर्दा उनी शीर्ष २६ औं स्थानमा थिइन् । सन् २०१७ मा सार्वजनिक गरेको सूचीमा उनी ३० औँ स्थानमा रहिन् ।
भारतमा बाछिटा
त्यसो त बंगलादेशको सत्तापलटले भारतमा के असर पर्छ भनेर दिल्लीमा विश्लेषण भइरहेको छ । यस विषयमा विदेशमन्त्री एस जयशंकर संसद्मा पनि जबाफ दिएका छन् । भारतले बंगलादेशसँगको सीमा क्षेत्रमा सेनाको तैनाथी बढाएको छ ।
आइतवार साँझसम्म हसिना हार मान्ने पक्षमा थिइनन् । वरिष्ठ नेता र सल्लाहकारहरूसँगको बैठकमा परिस्थिति नियन्त्रण बाहिर गएको बिफ्रिङ गरिएको थियो तर, हसिनाले हार मान्न भने तयार भइनन् ।
उनले बल प्रयोग गरेर नै परिस्थितिलाई नियन्त्रणमा लिने तयारीमा थिइन् । तर, सुरक्षा अधिकारीहरूले अवस्था नियन्त्रण बाहिर गएको र जे पनि हुन सक्ने बिफ्रिङ दिएपछि उनी मानसिक रूपमा राजीनामा गर्न तयार भइसकेकी थिइन् ।
सेनाका एक वरिष्ठ अधिकारीले बीबीसी बगलालाई भने, ‘शेख हसिनाले आफ्नो राजीनामा पत्रमा कतिबेला हस्ताक्षर गरिन् र कतिबेला हेलिकप्टर चढेर भारततर्फ पलायन भइन् कसैलाई थाहा भएन ।’ तर यसको गोप्य जानकारी भने बंगलादेशको स्पेशल सिक्योरिटी फोर्स, प्रेसिडेन्ट गार्ड रेजिमेन्ट, सेनिक मुख्यालयका शीर्ष अधिकारी र भारत सरकारलाई थियो । यी सबै घटनाक्रमलाई अत्यन्त गोप्य राखिएको थियो । ढाकाबाट हसिनालाई ल्याउन भारत सरकारले पनि तारतम्य मिलाएको वरिष्ठ सैन्य अधिकारीहरू बताउँछन् ।
सैन्य अधिकारीहरूका अनुसार सोमबार बिहान ११ बजे हसिना प्रधामनन्त्री भवन ‘गणभवन’बाट बाहिरिन् । सेनाको हेलिकप्टर चढेर भारतीय राज्य त्रिपुराको राजधानी अगरतला पुगिन् । त्यसपछि विशेष विमानमार्फत् बहिनी शेख रेहानाका साथ दिल्ली पुगिन् ।
भारतको सल्लाहमा हसिनाले दुवै विकल्प खुला राखेकी थिइन् । देश छाडेर बाहिर जान पनि उनी तयार भएकी थिइन् । तर त्यसअघि उनी बल प्रयोग गरी अन्तिम क्षणसम्म सत्तामा टिकिरहन चाहन्थिन् ।
तर सेनाका शीर्ष अधिकारीहरू थप हिंसा हुन नदिन सल्लाह दिएपछि हसिनाले गोप्य सूत्रमार्फत नयाँदिल्ली सम्पर्क गरेकी थिइन् र त्यहाँबाट उनलाई बंगलादेशबाट बाहिरिन सल्लाह दिइएको बीबीसी बंगलाले उल्लेख गरेको छ ।
हसिनालाई देशबाट भगाउन सेनाले पनि अप्रत्यक्ष भूमिका निर्वाह गरेको पनि बंगलादेशी अधिकारीहरूको दाबी छ ।
बंगलादेशबाट प्रकाशित हुने दैनिक पत्रिका प्रथम आलोले जनाएअनुसार सोमबार बिहान प्रधानमन्त्री निवास ‘गणभवन’ जाने बाटोलाई सेना र प्रहरीले घेराबन्दी गरेका थिए । हसिनालाई सुरक्षित रूपमा तेजगांव विमनस्थलसम्म पुग्न कुनै अवरोध नहोस् भन्नकै लागि यस्तो घेराबन्दी गरिएको थियो ।
अधिकारीहरूलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘देशबाट पलायन हुने विषयमा हसिनाले भारतसँग पहिला नै सम्पर्क गरेकी थिइन् र भारतले पनि सेनाको सहयोगमा उनलाई ढाकाबाट भगाउन मद्दत गरेको छ ।’
हसिनालाई बंगलादेश वायु सेनाको विमानबाट दिल्ली नजिकैको हिन्डन विमानस्थल ल्याइएको थियो ।
प्रतिक्रिया