काठमाण्डु – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्ता नरहेको बताएका छन् ।
भक्तपुरमा शनिबार भएको एक कार्यक्रममा नेता कोइरालाले कांग्रेस सरकारमा भएको तर सत्ताको चाबी हातमा नभएको टिप्पणी गरे ।
कांग्रेसलाई मध्यमार्गी पार्टीको रूपमा चित्रित गर्दै उनले मध्यमार्गी पार्टी कमजोर हुँदा देश अराजकतामा जाने बताए । देश अप्ठ्यारो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने उनले जोड दिए ।
‘अत्यन्तै अप्ठ्यारो परिस्थितिमा देश गइरहेको छ । नेपाली कांग्रेस एउटा मध्यममार्गी पार्टी हो । हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन, उग्रवामपन्थीको त कुरै भएन,’ उनले भने, ‘कुनै पनि देशमा मध्यममार्गी पार्टी कमजोर भयो, खुम्चियो भने देश अराजकतातिर जान्छ ।’
उनले कांग्रेस सरकारमा भए पनि सत्तामा नरहेको प्रसंग कोट्याए । ‘सरकार र सत्ता फरक कुरा हुन् । हामी सरकारमा छौँ । नेपाली कांग्रेस सरकारमा छ । तर सत्ताको चाबी हामीसित छैन,’ उनले भने । ।
उनले वामपन्थीबाट सत्ताको चाबी लिनुपर्ने तर्क गरे । ‘सत्ताको चाबी वामपन्थीसँग छ । त्यसलाई कसरी हामीले खोल्ने ? चाबी खोल्नुपर्यो नि त,’ उनले भने ।
एमालेले गलत काम गरिरहेको भन्दै उनले गलतलाई गलत भन्न सक्नुपर्ने बताए । ‘भोलिको प्रतिस्पर्धी एमाले हो । उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ,’ उनले भने, ‘ गलतलाई गलत भन्न सकेनन् भने ती कांग्रेसका कार्यकर्ता होइनन् ।’
चुनाव भएको साढे दुई वर्ष भइसक्दा समेत पनि ठूलो पार्टी भएर पनि सरकारको नेतृत्व लिन नसकेको भन्दै पार्टी नेतृत्वमाथि उनले प्रश्न पनि उठाए ।
कोइरालाले प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै भ्रष्टाचार गर्न दिन्न भनेर मात्रै भ्रष्टाचारको अन्त्य नहुने टिप्पणी गरे ।
प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा आफू पनि भ्रष्टाचार गर्दिनँ अरूलाई पनि गर्न दिन्न भन्ने अभिव्यक्ति दिँदै आएका छन् ।
त्यही अभिव्यक्तिलाई लक्षित गर्दै उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्न सरकार निर्मम हुन जरुरी छ । भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न मात्रै भनेर हुँदैन । त्यो देखिनुपर्यो, प्रतिशोधको भावना लिएर मात्रै हुँदैन । कसैलाई गर्ने कसैलाई नगर्ने भन्ने हुँदैन । यहाँ प्रतिशोधको भावना देखिरहेको छु ।’
प्रतिक्रिया