ओलीपछि सत्ता हस्तान्तरण हुनेमा शेखर संशकित

ओलीपछि सत्ता हस्तान्तरण हुनेमा शेखर संशकित


काठमाण्डु-कांग्रेस नेता शेखर कोइरालाले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनमा तलमाथि गर्न नहुने बताएका छन् । उनले कांग्रेस र एमाले मिलेर बनेको अहिलेको सरकारबाट कुनै गल्ती वा कमजोरी गर्ने छुट नभएकोतर्फ सचेत गराएका छन् ।

बिपी कोइरालाको ४२औं स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा नेता कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीपछि सरकारको नेतृत्व कांग्रेसको हातमा आउनेमा आशंका व्यक्त गरे ।

‘आज कांग्रेस सम्मिलित सरकार बनेको हुँदा तपाईँहरू खुसी हुनुहुन्छ । राम्रो काम गर्ला भन्ने लागेको छ । तर, भोलि के हुन्छ भन्ने हामी सोचिरहेका छौँ । यो टिक्छ त भनेर । त्यस्तो अवस्थामा यो सरकार गइरहेको छ । यसलाई रोक्न हामीले निर्वाचन प्रणालीमा सुधार ल्याउन सक्नुपर्छ । मिश्रित प्रणालीमा गइरहने हो भए चुनावमा मिलेर गएको दलसँग पाँच वर्ष मिलेरै जानुपर्छ । हामी ठूलो दल छौँ कहिले ३२, कहिले ७७ सीटले नेतृत्व लिइराखेको छ । हामीले सकेका छैनौँ । त्यतातिर पनि ध्यान पु¥याउन जरुरी छ । कांग्रेसको पालोपछि आउँछ कि आउँदैन भन्ने सबैको मनमा छ ।’

उनले अब जनताले सुशासनको अनुभूति हुने गरि सरकारले काम गर्नुपर्ने सुझाव दिए ।

अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा उनको जोड थियो ।

कोइरालाले देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको समेत बताए । उनले भने, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर बस्न नहुने उनको भनाइ छ ।

कोइरालाले मन्त्रीहरूले गलत काम गरे उनीहरूको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले भने, ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।’

बीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको उनको गुनासो छ ।