मन्त्रिपरिषद्‍मा कांग्रेस इतर पक्षले माग्यो चार मन्त्रालय

मन्त्रिपरिषद्‍मा कांग्रेस इतर पक्षले माग्यो चार मन्त्रालय


काठमाण्डु-नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला पक्षले कांग्रेस–एमालेसहितको गठबन्धन सरकारमा आफ्नो समूहबाट पठाउने मन्त्रीबारे छलफल गरेका छन् । कोइरालाको विशालनगरस्थित आफ्नै सचिवालयमा कांग्रेस इतर समूहका नेताहरूको आइतबार बैठक बसेको हो ।

कांग्रेस–एमालेबीच भएको सहमतिअनुसार क्रमशः ११ र १० मन्त्रालयको भागबन्डा भएको छ । तर साना दललाई पनि सरकारमा सहभागी गराउने भएसँगै यी संख्या केही घट्ने छन् ।

कांग्रेसभित्र शेखरले आफ्नो समूहले चार मन्त्रालय पाउनुपर्ने अडान लिएका छन् । सभापति शेरबहादुर देउवाले ३ मन्त्रालय लिन भनिरहेका छन् ।
छलफलले नेता कोइराला र महामन्त्री गगन थापालाई पार्टी सभापति शेरबहादुर देउवासँग समन्वय गरेर सन्तुलित ढंगले सरकारमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई मन्त्री बनाउने जिम्मेवारी प्रदान गरेको छ । ‘पार्टीले मन्त्री छनोटको मापदण्ड बनाएको छ । सोहीअनुरूप मन्त्रीहरू छनोट गर्न कोइराला र थापाले सभापतिसँग छलफल गर्नुहुनेछ,’ बैठकपछि सहमहामन्त्री बद्री पाण्डेले भने ।

एमालेसँगको पहिलो सहमतिअनुसार इतर समूहले ११ मध्ये चार मन्त्रालय पाउने कुरा भएको पाण्डेले दाबी गरे । यस्तै बैठकमा समग्र राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको छ ।

पार्टीभित्रको आन्तरिक भागबण्डा हुँदा पनि सरकारमा पठाउने अनुहारले दुई पार्टी, अन्य पार्टीसँग समन्वय गरेर अघि बढ् नसक्ने व्यक्तिलाई हेर्ने गरी सभापति देउवासँग छलफल गर्न नेता कोइराला र महामन्त्री थापालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

छलफलमा नेता कोइराला, महामन्त्री थापा, सहमहामन्त्री पाण्डे, केसीका साथसाथै उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, दिलेन्द्रप्रसाद बडु, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेता सहभागी थिए ।