सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने


काठमाण्डु – नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ ।

सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सङ्गठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी शुरु भइसकेको छ । नेपाली मौलिक परम्परागत कला एवं संस्कृतिको संरक्षण, प्रचारप्रसार र प्रवर्धनमा योगदान पु¥याउने हेतुले सेनाले यो कार्यक्रम गर्न लागेको हो । सैनिक सङ्गठनमा गीत, सङ्गीत र बाजागाजालाई अभिन्न अङ्गका रुपमा लिने गरिन्छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले राष्ट्रपति एवं परमाधिपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्चमा मुख्य समारोहको आयोजना गरी सेना दिवस मनाउँदैआएको छ ।

सोही अवसर पारेर छाउनी र सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा अमर शहीदको सम्मानमा यस वर्षदेखि अखण्ड दीप प्रज्वलनको सुरुआत हुने प्रवक्ता भण्डारीले जानकारी दिए । महाशिवरात्रिका दिन यो वर्ष सेना दिवस आगामी फागुन ६ गते मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका क्रममा विसं १८१९ मा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रारम्भमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख गरी पाँच सैनिक कम्पनी खडा गरेपछि वर्तमान सेनाको साङ्गठनिक स्वरुपको सुरुआत भएको हो ।

आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि स्वदेशी तथा विदेशदेखि ठूलो सङ्ख्यामा तीर्थयात्री काठमाडौँ आउने हुनाले त्यसको महत्वसमेतलाई दृष्टिगत गरी शिवरात्रिका दिन टुँडिखेलमा भव्य समारोहको आयोजना गरी सेनाले स्थापना दिवस मनाउँदैआएको छ ।

नेपाल र भारतबीच एक–अर्का देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । सेना दिवस समारोहमा यहाँस्थित दूतावास र नेपालका लागि अवैतनिक तोकिएका दूतावासका सैनिक सहचारीले पनि भाग लिनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement