सेनाका अन्तर्राष्ट्रिय निर्णायक ढकाल उज्वेकिस्तान प्रस्थान


काठमाण्डु – नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गरेका छन् ।

आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो प्रतियोगिताको रेफ्री छनोट र बन्द प्रशिक्षणमा भाग लिन आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

निर्णायक छनोट र बन्द प्रशिक्षण यही माघ २९ देखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय रेफ्री ढकालको ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा हालै पदोन्नति भएको थियो । वल्र्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई केही दिनअघि पदोन्नतिको प्रमाणपत्र पठाएको थियो । तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्षको थियो ।

त्रिभुवन आर्मीमा आबद्ध उनले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आएका छन् । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उनी पहिलो हुन् ।

अहिले ढकाल भक्तपुरस्थित सैनिक स्कुलमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा छन् । चीनको वुहानमा विसं २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता (सिज्म्स)मा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए ।

ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायकमा समेत घोषित भएका थिए । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी थिए ।

यसअघि नेपालमा सम्पन्न साउथ एसियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement