सेनाका बहालवाला उपरथी सैनिक प्रहरीद्धारा पक्राउ


काठमाण्डु – नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले पक्राउ गरेको छ । पुष २० मा अवकासमा जान लागेका शाही विदामा बसिसकेका थिए । शाहीले पुस ७ मात्र सर्वोच्चमा आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।

प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा उनलाई सैनिक ब्यारेकमा बस्ने गरी पक्राउ गरिएको सैनिक स्रोतले बतायो ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयांलको एकल इजलासले सेना र रक्षा मन्त्रलायका नाममा कारण देखाऊ आदेश गरी गर्दै शाहीको निवेदनअनुसार नै फैसला गरेपछि उनले थप एक वर्ष जागिर खान सक्ने अवस्था थियो ।

शाहीको चारित्रिक प्रमाणपत्रमा २०२२ पुस २० गते थियो भने प्रमाणपत्रमा २०२३ पुस २० गते थियो । सेनाको अभिलेखालयमा २०२२ पुस २० भएकाले १५ दिनअघि नै सेनाले उनलाई अवकाशको पत्र थमाएको हो । उपरथी शाही सेनाको पत्रअनुसार विदामा बसेका थिए । तर, सर्वोच्चको पत्रपछि उनि सैनिक मुख्यालय फर्कन खोज्दा सेनाले उनलाई पक्राउ गरेको हो ।

शाही तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा निकट थिए । उनले थापाकै बलमा सेनामा धेरै लाभ लिएको आरोप थियो । त्यतिमात्र होईन उनले शक्तिको दुरुपयोग गरेर आफ्ना विरोधी सैनिक अधिकारीहरुप्रति पूर्वाग्रह सांधेको आरोप समेत छ ।

 सैनिक प्रवक्ता सहायकरथी कृष्ण भण्डारीले उपरथीबाट अवकास पाएका शाहीको हकमा उजुरी परेकाले अनुसन्धान गर्नको लागि सैनिक ब्यारेकमा बस्न भनिएको जानकारी दिए । उनले शाही सेवामा हुंदा उनका बारेमा उजुरी परेकाले छानविनका लागि सैनिक मुख्यालयभित्रै बस्न भनिएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement