सेनामा सहायकरथी बढुवामा बिवाद :समायोजनमा आएका कर्णेल अधिकारीलाई बढुवामा छुटाईयो


काठमाडौं – नेपाली सेनाका महासेनानीहरुको बढुवा रोकिएको छ । सैनिक मुख्यालयले चैत्र पहिलो साता बढुवाको फाइल रक्षामन्त्रायमा पठाएपनि हालसम्म बढुवा स्विकृत भएको छैन् । सेनाले महासेनानीहरु विष्णु रावत, सन्तोषवल्लभ पौडेल, पवनकुमार घिमिरे, चोकबहादुर ढकाल र पदम बहादुर सिंह सहायकरथीमा बढुवा सिफारीस गरेको थियो । तर, रक्षामन्त्रालयले भने सोमबारसम्म बढुवाको फाइल अघि बढाएको छैन् । 

सेनाका बलाध्यक्षरथी शरद गिरी नेतृत्वको बोर्डले उनिहरुलाई सहायकरथीमा बढुवा गर्न सिफारीस गरेपछि प्रधानसेनापति पुर्णचन्द्र थापाले त्यसलाई सदर गरेका थिए ।   

सहायकरथीमा बढुवा सिफारीस भएका पौडेल र घिमिरे २७ वेसिकका सैनिक अधिकृत हुन् भने ढकाल,रावत र सिंह २८ वेसिकका सैनिक अधिकृत हुन् । 

सैनिक मुख्यालयले बढुवा सिफारीस गरेको एक महिना वितिसक्दा पनि बढुवा नहुनुको पछाडी रक्षामन्त्रालयमा परेको उजुरीले काम गरेको सैनिक स्रोतको दाबी छ । 

माओवादीको तत्कालिन जनमुक्ति सेनाबाट सेना समायोजनमा आएका महासेनानी यमबहादुर अधिकारीले आफु बढुवा हुन पाउनुपर्ने भन्दै रक्षामा उजुरी दिएको स्रोतको दावी छ । 

उनले यसअघि २८ बेसिककै महासेनानी गणेश श्रेष्ठ बढुवा हुंदा पनि आफु बढुवामा छुट्नुको कारणबारे सैनिक नेतृत्वको ध्यानआकर्षण गराएको बताईन्छ । 

अधिकारीभन्दा पछि महासेनानीमा बढुवा भएका सैनिक अधिकारी सहायरकथीमा बढुवा सिफारीस हुंदा समेत उनको बढुवावारे तत्कालिन सैनिक नेतृत्वले कुनै चांसो नदिएपछि अधिकारीले उजुरी गरेको स्रोतको दावी छ । 

विद्यमान सैनिक नियमावलीअनुसार अधिकारीको सहायकरथीमा बढुवा हुन योग्यता पुगेको छैन् । तर, उनि विशेष अवस्थामा महासेनानी दर्जामा बढुवा भएको हुंदा उनलाई प्रधानसेनापतिले विशेष अधिकार प्रयोग गरेर बढुवा गर्नुपर्ने तर्क सेनाकै केही अधिकारीको रहेको छ । 

सेनामा सहायकरथीमा बढुवा हुन स्टाफ कलेज  र हायर कमाण्ड कोर्स अनिवार्य गरेको हुनुपर्ने नियम छ । जेष्ठतालाई आधार मान्दा हाल सहायकरथीमा बढुवा सैनिक अधिकारीहरु महासेनानी अधिकारीभन्दा सिनियर हुन् । तर महासेनानी दर्जामा बढुवा हुंदा भने अधिकारी नै उनिहरुभन्दा वरियतामा अघि छन् । 

‘उहांहरु आधारभुत तालिम सकेर सेनामा समायोजन भइसक्नुभएको छ, विशेष अवस्थामा बढुवा भएकोले उहांलाई प्रधानसेनापतिले विशेष अधिकार प्रयोग गरेर भएपनि बढुवा गर्दा राम्रो हुन्छ ।’ सेनाकै एक उच्च अधिकारीले भने । 

अधिकारी २०७० माघमा महासेनानी दर्जामा बढुवा भएका थिए । सैनिक मुख्यालयको सिफारीसमा उनलाई मन्त्रिपरिषदको बैठकले बढुवा गरेको थियो ।  

सैनिक नेतृत्वलाई भने कुन कानुनमा टेकेर उनको बढुवा गर्ने भन्ने अफ्ठेरो परेको छ । सेनामा महासेनानीबाट सहायकरथी हुन हायर कमाण्ड कोर्स गरेको हुनुपर्ने नियम छ । तर, अधिकारीले हालसम्म उक्त कोर्स गरेका छैनन् ।  सेना समायोजनमा आएकाहरुको वृति विकासलाई कसरी अघि बढाउने भन्नेवारे समेत सैनिक मुख्यालयसंग कुनै योजना नभएको बताईन्छ । 

सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले सहायकरथीको बढुवा रोकिएकोबारे आफुलाई कुनै जानकारी नभएको बताए । ‘यो वारेमा बुझेपछि म तपाईलाई भनौला, अहिलेलाई मलाई बढुवा रोकिएकोबारे कुनै जानकारी छैन् ।  ’ सैनिक प्रवक्ता पाण्डेले काठमाडौंपाटीसंग भने ।

अधिकारीसहित ७० जना पूर्व माओवादी लडाकू औपचारिक रुपमा उपसेनानीको रुपमा नेपाली सेनामा प्रवेश गरेका थिए । उनिहरुमध्ये अधिकारी महासेनानी, बासुदेव घिमिरे र पदमबहादुर तामांग प्रमुख सेनानी बनेका थिए । त्यस्तै १३ जना सेनानी, ३० जना सहसेनानी र २४ जना सेनामा तालिमपश्चात उपसेनानी वनेका थिए । 

प्रतिक्रिया दिनुहोस
Advertisement