प्रधानसेनापतिले ल्याए सैनिक परिवारले २५ लाखसम्म सहुलियतपूर्ण शैक्षिक कर्जा पाउने योजना 


काठमाडौं– नेपाली सेनाको सैनिक कल्याणकारी कोषले सहुलियतपूर्ण शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ । कोषले महाशिवरात्री तथा सेना दिवस २०७५ को अवसरमा आफ्ना हिताधिकारीका सन्ततिहरुलाई प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई सम्मानपूर्ण जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले यो योजना अघि सारेको हो । 

प्रधानसेनापति पूर्णचन्द्र थापाले कल्याणकारीलाई सबै तह लाभान्वित हुने गरी परिचालन गर्ने बताउंदै आएका थिए । प्रधानसेनापति थापाले नै यो योजना अघि बढाएका हुन् । उनी प्रधानसेनापतिमा नियुक्ती भएसंगै कल्याणकारीलाई पारदर्शी बनाउंदै लगेका छन् । 

प्राविधिक विषयमा उच्च शिक्षा हासिल गराई सम्मानपूर्ण जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले स्वदेश वा विदेशमा चिकित्साशास्त्र, ईन्जिनियरिङ्ग, सूचना प्रविधि, कृषि तथा पशु विज्ञान र वन विज्ञान संकायमा स्नातक तह वा सो भन्दा माथिल्लो तहको अध्ययनका लागि वार्षिक ५ प्रतिशतको सहुलियतपूर्ण ब्याजदरमा अधिकतम पच्चीस लाखसम्मको ’सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५’ अनुसार ऋण उपलब्ध गराउन प्रभु बैंक लिमिटेडसंग कोषको सहमति भएको छ ।

प्रतिष्पर्धाको आधारमा छनौट गरिएको प्रभु बैंक लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउन लागिएको शैक्षिक कर्जामा पांच लाखसम्म सम्बन्धित अभिभावकको व्यक्तिगत धन जमानी र सो रकम भन्दा माथिको हकमा सम्बन्धित बैंकलाई मान्य हुने धितो सुरक्षण उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । 

सेनाको सैनिक जनसम्र्पक निर्देशनालयले सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा २०७५ फाल्गुण २० गतेदेखि कार्यान्वयनमा आउने जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस
Advertisement