सेनामाथिको हस्तक्षेप नेपाली कांग्रेसका लागि अस्वीकार्य : सभापति देउवा


पोखरा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले सेनामाथि पनि हस्तक्षेप गरेको आरोप लगाएका छन्। सेनामाथिको हस्तक्षेप नेपाली कांग्रेसका लागि अस्वीकार्य हुने चेतावनी समेत उनले दिएका छन्।

‘दुनियाँमा कहीँ प्रधानमन्त्रीले सेना चलाउन पाइन्छ? दुनियामा कहीँ पनि यस्तो हुँदैन’ पोखरामा विहीबार आयोजित काँग्रेस कोषाध्यक्षहरुको दुई दिने तेस्रो राष्ट्रिय भेलाको उद्घाटन गर्दै देउवाले भने, ‘सेना परिचालन गर्ने संयन्त्रको रुपमा सुरक्षा परिषद छ, प्रधानमन्त्रीले सेना परिचालन गर्ने कुरा कांग्रेसलाई मान्य हुँदैन।’

प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने गरी सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आएको उनको जिकिर थियो। सरकारले प्रेसमाथि अंकुश लगाउन खोजेको भन्ने आरोप लगाउन पनि उनले छुटाएनन्। निर्वाचनका बेला आफूले भनेजस्तै अधिनायकवाद अब आउनै लागेको उनको दावी थियो।

केपी ओली नेतृत्वको सरकारले एक वर्षमा एउटा पनि राम्रो काम गर्न नसकेको दावी गरेका उनले निर्मला पन्तको बलात्कारी हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप पनि लगाए।

उद्योगी, व्यापारीहरु करबाट त्रसित भएको दावी गर्दै उनले भने ‘एउटा जिल्लाबाट अर्को जिल्लामा कुखुरा लैजाँदा पनि कर लगाएको छ’ उद्योगपतिहरुले पनि भनिसके, प्रधानमन्त्री केपी ओली नभई करप्रसाद ओली हुन्।’ साथै ओली सरकारले १ वर्षमा एउटा पनि राम्रो काम नगरेको आरोप उनले दोर्होयाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement