संघीय सांसदहरूलाई महन्थ ठाकुरले शपथ गराउने


काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन् ।
नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई यो अवसर जुरेको हो ।
नेता यादवले शपथमा आफू उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी दिएपछि उनीपछिका ज्येष्ठ सदस्य ७५ वर्षीय ठाकुरले शपथ गराउने निश्चित भएको सचिवालयका प्रवक्ता डा : भरतराज गौतमले जानकारी दिए ।

अध्यक्ष ठाकुरलाई आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराउनुहुनेछ । सभामुखको निर्वाचन नभएसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने कानूनी प्रावधान छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते र ५६ सदस्यीय राष्ट्रियसभाको माघ २४ गते भएको थियो । राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा फागुन २१ गते संघीय संसद्को पहिलो बैठक आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement