सिरियामा दश दिनमा १०० भन्दा बढीको मृत्यु


एजेन्सी – सिरियामा पछिल्लो दिनमा २६ बालबालिका सहित एक सयभन्दा बढि मानिसहरू अस्पताल, विद्यालय, बजार र बेकरिमा भएका सरकारी हमलामा मारिएको राष्ट्रसंघ मानव अधिकारले जनाएको छ । पछिल्लो १० दिनमा अस्पताल, विद्यालय, बजार तथा बेकरीमा लक्षित गरी भएका आक्रमणमा २६ बालबालिकासहित कम्तिमा १०३ जनाको ज्यान गएको हो ।

यस्ता आक्रमण सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा भएका हुन् । बिद्रोहीको नियन्त्रण रहेको क्षेत्रमा सरकारी सुरक्षाकर्मी र उसका सहयोगीहरुले हवाई आक्रमण गरेको आरोप संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रमुख मिशेल बाचलेटको छ । अन्तर्राष्ट्रिय उदाशिनताको फाइदा आक्रमणकारीले उठाएको उनले बताएकी छन् ।इड्लीब क्षेत्रमा भएको हवाई आक्रमणमा आफूहरुले सर्वसाधारणलाई निशाना नबनाएको सिरिया र उसको सहयोगी रुसले दाबी गर्दै आएको छ ।

पत्रकारसँग कुरा गर्दै बाचलेटले विश्वका शक्तिशाली राष्ट्रका नेताहरुको असफलताका कारण सर्वसाधारण तथा बालबालिकाले ज्यान गुमाउनु परेको बताइन् । इड्लीबमा सर्वसाधारण मारिने क्रम बढ्नुमा अन्तर्राष्ट्रिय समुदायबाट भएको उपेक्षा नै रहेको उनले बताएकी छन् । यस्तै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद ‘प्यारलाइज्ड’ बनाइएको पनि उनको भनाई छ।

सर्वसाधारण निशाना बन्नु दुर्घटना वा अज्ञानमा भएको कुरा नरहेको र हवाई आक्रमण गर्नेहरुमाथि युद्ध अपराधको मुद्दा लगाउनु पर्ने उनले माग गरेकी छन् । ‘अन्तर्राष्ट्रियस्तरबाट सर्वसाधारणमाथि हुने आक्रमण युद्ध अपराध हो र आक्रमणका लागि जसले आदेश दिए वा जसले आक्रमण गरेका छन् उनीहरुले आपराधिक जिम्मेवारी लिनु पर्छ’ बाचलेटले भनिन् । सिरियाको इड्लीब प्रान्त, हामा प्रान्तको उत्तरी क्षेत्र तथा एलेप्पो प्रान्तको पश्चिमी क्षेत्रमा अझै पनि विपक्षीको बाहुल्यता छ । सिरियामा विगत ८ वर्षदेखि गृह युद्ध जारी छ ।

गएको सेप्टेम्बरमा ती क्षेत्रमा रुसको सहयोगमा सत्ता पक्षले घेराबन्दी गरेको थियो । झण्डै २७ लाख सर्वसाधारणको बसोबास रहेको सो क्षेत्रका विपक्षीलाई टर्कीले साथ दिएको छ । गएको अप्रिलको २९ देखि सो क्षेत्रमा सरकारी पक्षबाट आक्रमणका घटना तीव्र भए । गएको हप्ता संयुक्त राष्ट्रसंघले पछिल्लो हिंसाका कारण ३५० सर्वसाधारणको ज्यान गएको र तीन लाख ३० हजार मानिस बिस्थापित हुन बाध्य भएको बताएको थियो । ज्यान गुमाउनेको संख्या थपिएको छ । पछिल्लो १० दिनमा थप १०३ जनाको ज्यान गएको उल्लेख गरिएको छ । बिस्थापित हुनेको संख्या चार लाख नाघेको बताइन्छ ।

तर रुसको साथ पाएको सरकारी पक्षले भने आफूहरुले बनाएको घेराबन्दीमा अल–कायदा सम्बद्ध आक्रमणकारीले आक्रमण गरेकाले पछिल्लो समय हवाई क्रमण बढाएको बताएको छ । रुसले गएको हप्ता बजार तथा आवासीय क्षेत्रमा हवाई आक्रमण गरेको आरोप अस्वीकार गरेको थियो । सो आक्रमणमा कम्तिमा ३१ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement