विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउनेछु : परराष्ट्रसचिव लम्साल


काठमाण्डु – नवनियुक्त परराष्ट्रसचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति कार्यान्वयनमा निष्ठापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा पद बहाली गरेपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सरकारले सुम्पेको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने दृढता व्यक्त गरेकी हुन् ।

‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगमा सरकारले सुम्पेको जिम्मेवारी पूरा गर्न कर्तव्यनिष्ठ भएर लाग्नेछु,’ उनले भनिन् । देशको परराष्ट्र नीतिअनुरुप द्विपक्षीय एवम् बहुपक्षीय सम्बन्धलाई प्राथमिकता दिँदै छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई विशेष प्राथमिकतामा राख्ने परराष्ट्र सचिवको भनाइ छ । हमासको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइका निम्ति कूटनीतिक प्रयासलाई दोब्बर बनाउने पनि लम्सालले बताइन् ।

नेपालसँग श्रम सम्झौता नभएका देशमा गैरकानुनी बाटोबाट वैदेशिक रोजगारीमा नजान सम्बद्ध सबैलाई आग्रह गर्दै सरकारले रोजगारीमा विदेश जान चाहनेलाई ‘रोजगार अनुमतिपत्र’ प्रदान गर्ने उनले बताइन् । रुसी सेनामा नेपाली युवा भर्ती भएका समाचार सार्वजनिक भएका सन्दर्भ कोट्याउँदै उनले अनुमतिपत्र प्रदान गरिने बताएकी हुन् । ज्यानलाई जोखिममा पारेर अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा नजान उनको आग्रह छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव लम्साललाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो । लम्साल नेपालको पहिलो महिला परराष्ट्र सचिव हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले उमेर हदका कारण अनिवार्य अवकाश पाएका थिए । उनले अवकास पाएसंगै सहसचिव लम्सालको एकल सिफारिस भएको हो । लम्साल यसअघि पाकिस्तानको राजदूत बनेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement