कर्णाली प्रदेशका मुख्यमन्त्री शाही विवादमा : वागि उम्मेदवार बने राजनीतिक सल्लाहकार  !


सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले पार्टीविरुद्ध बागी उम्मेदवार दिने र भ्रष्टाचारको आरोप लागेकालाई आफ्नो सल्लाहकार नियुक्ती गरेका छन् ।  

शाहीले सल्यानमा तत्कालीन वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका भीमप्रकाश शर्मालाई राजनीतिक सल्लाहकार र भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएका रत्नबहादुर गाहालाई मुख्यमन्त्रीको प्रशासनिक सल्लाहकारमा नियुक्ती गरेपछि नेकपाभित्र विवाद बढेको छ । 

मुख्यमन्त्री शाहीले पार्टीसंग सल्लाह नगरी मनोमानी ढंगले निर्णय गरेको भन्दै प्रदेशकै सिनियर नेताहरुले समेत असन्तुष्टि जनाएका हुन् । 

शनिवार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेका कोइरालाले सल्यान प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका आधिकारिक उम्मेदवार गुलावजंग शाहविरुद्ध बागी उम्मेदवारी दिएका थिए ।  पछि उनलाई पार्टीले कार्वाही समेत गरेको थियो । 

गाहामाथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समाज कल्याण परिषद्का तत्कालीन कोषाध्यक्ष गाहा सहित ९ जनाविरुद्ध जनही ३१ करोड  ५२ लाख बिगो दाबीसहित गएको २२ माघमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा बदनियतपूर्ण तरिकाले ठेकेदारलाई भाडामा लगाएको भन्दै उनिविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेकपाका नेता समेत रहेका प्रदेश सभाका सांसद ठम्मर विष्टले यस विषयमा मुख्यमन्त्री र पार्टी नेतृत्वले जवाफ दिनुपर्ने बताएका छन् । उनले नियुक्तीबारे आफुहरुसंग कुनै सल्लाह नभएको दावी गरे । 

नेकपा कर्णाली प्रदेश सचिव पारशमणि आचार्य पनि नियुक्तीबारे वेखबर छन् । उनले सामाजिक सञ्जाल फेसबूक मार्फत असन्तुष्टि प्रकट गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘कमरेड नियुक्ति गरेको कुरा फेसबूकबाट सगर्व जानकारी भयो । नियुक्त हुनुहुने सबै कमरेडहरूलाई कार्य सफलताको शुभकामना सहित बधाई । ’

 नेकपाका नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले पार्टीसंग सल्लाह नगरी नियुक्ती गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले मुख्यमन्त्रीसंग स्पष्टीकरण सोधिने समेत बताएका छन् ।

‘पार्टीसंग सल्लाह नगरी जो सुकैले नियुक्ती गरेपनि त्यो हामीलाई मान्य हुंदैन्, हामीले यसलाई गम्भिर रुपमा लिएका छौं,यसबारेमा हामी स्पष्टीकरण सोध्छौं,।’ बोगटीले भने । 

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले प्रदेश ईन्चार्ज जनार्दन शर्माको निर्देशनमा नियुक्ती गरेको नेकपा वृतमा चर्चा छ । कोइराला र गाहा दुवै शर्मा निकट नेता हुन् । 

मुख्यमन्त्री शाहीले पार्टीसंग सल्लाह नगरी काम गरेको भन्दै उनको आलोचना हुंदै आएको छ  । यसअघि पार्टी एकता भइसकेपछि समेत पुर्व एमालेका नेताहरुले उनलाई दलको नेता नमान्ने अडान लिएपछि पार्टीभित्र विवाद समेत भएको थियो । शाही मुख्यमन्त्रीमा नियुक्त भएदेखी नै आलोचित हुंदै आएका छन्। 

उनी मुख्यमन्त्री भएपछि कर्णाली प्रदेशमा विकास बजेट जम्मा २.७८ प्रतिशत मात्र खर्च भएको छ । तर, प्रदेश सरकारले राजनीतिक नियुक्ति भने धमाधम गरिरहेको छ । शाहीले गरेका नियुक्तीहरु समेत विवादित वन्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement