संविधानको भावनाअनुरूप जनयुद्ध दिवसको बिदा गरिएको हो : ऊर्जामन्त्री बस्नेत


काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गते जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्थाअनुसार नै गरेको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीको सशस्त्र युद्ध सुरू गरेको दिनलाई सरकारले सार्वजनिक बिदा दिएर गलत गरेको आरोप लगाएपछि मन्त्री बस्नेतले जवाफ दिएका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता नलिए त्यसविरुद्ध कदम चाल्ने चेतावनी दिएका थिए ।

प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री बस्नेतले संविधानको प्रस्तावनामा नै शहीद, बेपत्ता र पीडित नागरिकलाई सम्मान गर्ने कुरा उल्लेख गरिएकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णयलाई संविधानविपरीत भन्नु तर्कसंगत नहुने बताए । उनले संविधानको भावना र अक्षरहरूलाई सम्मान नगर्ने हो भने मुलुक दुर्घटनामा फस्न सक्ने बताए ।

उनले भने, ‘फागुन १ गते सरकारले बिदा घोषणा गरेको सन्दर्भमा चर्चा भइराख्दा अलिकति मैले त्योबारे सोचें । हाम्रो संविधानको प्रस्तावनाको दोस्रो प्यारामा प्रस्ट रूपमा लेखिएको रहेछ – त्यो गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै शहीद बेपत्ता एवं पीडित नागरिकहरूलाई सम्मान गर्दै भन्ने कुरा हाम्रो संविधानको प्रस्तावनामा लेखिएको छ तर अब त्यसको सम्मान किन गरिएको, स्मरण किन गरिएको ? यसो भयो भने संवैधानिक दुर्घटना हुन्छ, संविधानको यो खिलाफमा हुन्छ भन्ने कुरा त्यति तर्कसंगतजस्तो लाग्दैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement