विद्युतीय सवारीसाधनलाई थप प्रवर्द्धन गरिनेछ : ऊर्जामन्त्री बस्नेत


काठमाण्डु – विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि काठमाण्डुमा ‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दैँ मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिए । उहाँले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताए।

ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र सङ्घीय संसद्मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाइ छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।

सरकारले देशभर नै पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ । यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् ।

वातावरणीय सुरक्षा र जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि पनि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको स्पष्ट पार्दै मन्त्री बस्नेतले सोही दिशामा सरकारले आफ्नो लक्ष्य तय गरेको बताए । विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिनु भनेको वातावरणको संरक्षण गर्नु पनि हो भन्ने मान्यताको विकास गराउन मन्त्रालयले योजनाबद्ध पहल थालेको उनको भनाइ छ ।

प्रदर्शनीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काठमाण्डुस्थित भारतीय दूतावासका प्रतिनिधिलगायतको उपस्थिति थियो । आजदेखि तीन दिनसम्म चल्ने नेपाल पावर, लाइट एन्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अपलायन्सेस तथा नेपाल इभी अन्तर्राष्ट्रिय प्रदर्शनीमा विद्युतीय सामग्रीका बारेमा जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement