वातावरण संरक्षणमा सामूहिक प्रयास आवश्यक : वनमन्त्री बस्नेत


पोखरा–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन आवश्यक भएको बताएका छन्।

विश्व सिमसार दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले शनिबार पाेखरामा आयोजना गरेकाे  ‘सिमसार तथा जलवायु परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘वातावरण संरक्षणमा सामूहिक प्रयास आवश्यक छ ।”

मन्त्री बस्नेतले प्राकृतिक सम्पदाको संरक्षण र यसको बहुआयामिक उपयोग गर्नुपर्ने बताउँदै मुलुक सङ्घीयतामा गइसकेपछि त्यसका लागि आवश्यक पर्ने ऐन, कानून र नीति नियम बनाउने कार्यमा सरकार लागिपरेको धारणा व्यक्त गरे।

कानून निर्माणसँगै सरकार दीर्घकालीन योजनाका साथ विकास निर्माणमा अघि बढ्ने बताउँदै उहाँले सरकार र विकास साझेदारबीच आपसी समन्वयका आधारमा अघि बढ्ने भने ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी क्षेत्रका रामसार सूचीका सूचीकृत तालका साथै अन्य जलसम्पदाको संरक्षण एवं उपयोगलाई सरकारले प्राथमिकतामा राखेको बताए।

सिमसार क्षेत्रका साथै पोखरी लगायतका प्राकृतिक जलाशय संरक्षणको अभावमा मासिँदै जाँदा जलचक्रसमेत प्रभावित हुने गरेको वास्तविकतालाई दृष्टिगत गरी यसको संरक्षणमा जुट्नु आवश्यक भएको उनले बताए।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले रामसारमा सूचिकृत तालको संरक्षणमा सबैको साझा प्रयास आवश्यक हुनेमा जोड दिँदै प्रकृतिले दिएका सम्पदाको संरक्षण र दिगो उपयोग गर्नुपर्ने बताए।

वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङ, मन्त्रालयका सहसचिव महेश्वर ढकाल, राष्ट्रिय वन्यजन्तु विभागका उपमहानिर्देशक गोपालप्रसाद भट्टराई, दामोदरभक्त थापा, रामबहादुर पौडेललगायतले जलवायु परिवर्तनको असर बढिरहेका अवस्थामा जलाधार क्षेत्रको संरक्षण अपरिहार्य भएकोमा जोड दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement