माओवादीलाई मुलुकको एउटा नेतृत्वदायी पार्टीको रुपमा पुनःस्थापित गरेरै छोड्छौं : शक्ति बस्नेत (अन्तर्वार्ता)


माओवादी केन्द्रका स्थायी समिति सदस्य शक्ति बहादुर बस्नेत माओवादीमा तुलनात्मक रुपमा स्वच्छ छवी भएका नेताका रुपमा चिनिन्छन् । जाजरकोटबाट दुई पटक चुनाव जितेका बस्नेत यसअघि स्वास्थ्य,वन तथा गृहजस्ता शक्तिशाली मन्त्रालयको मन्त्री समेत बने । बस्नेत युवा पुस्तामा माओवादीभित्र वैचारिक हिसावले समेत अव्वल मानिन्छन् । प्रस्तुत छ उनै बस्नेतसंग काठमाण्डुपाटीका लागि वसन्त खड्का र निशेष खनालले गरेकाे कुराकानीकाे  सम्पादित अंश  :

अहिले तपाईहरुको पाँच दलीय गठबन्धन बनेको छ । नयाँ सरकार पनि बनिसक्यो । केपी ओली नेतृत्वको सरकार ढाल्न मात्र यो गठबन्धन बनेको हो की निर्वाचनसम्म जान गठबन्धन निर्माण भएको हो ?

-होइन।गठबन्धन कति बेला बनाउने, कस्तो बेला बनाउने भन्ने विषय पार्टीको इच्छा चाहनाले मात्र पनि हुदैन । समग्र देशको परिस्थिति, राजनैतिक एजेण्डाहरु लगायत धेरै कुराहरुले निर्धारण गर्ने गर्दछ ।४०, ६० अथवा ७० को दशकलाई हेर्दा हामीले दूरगामी महत्वका राजनीतिक निर्णयहरु गर्दा बृहत्तर संयुक्त मोर्चा वा सहकार्य गरियो। २०६२\६३ पछि जब सात दल र माअ‍ोवादीबीचको सहकार्य टुट्यो।जसले गर्दा उपलब्धीहरुलाई संस्थागत गर्न जटिल भयो । पहिलो संबिधानसभाबाट संबिधान बन्न सकेन। २०७२ सालमा वाम लोकतान्त्रिक शक्तिहरुको सहकार्यबाट संविधान बन्यो । फेरी संविधान बन्ने बित्तिकै सत्तापक्ष र प्रतिपक्षको जस्तो स्थिति बन्यो र जसले संविधान कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने अवस्था सिर्जना हुन पुग्यो ।जब फेरी वाम लोकतान्त्रिक वाम लोकतान्त्रिक सरकारहरु बने निर्वाचनको परिस्थिति तयार भयो र  निर्वाचन सम्पन्न भयो ।

त्यसपछि हामीलाई लागेको थियो राजनीतिक व्यवस्थालाई संस्थागत गर्ने कुरा एक चरण पूरा भयो । मुलुकको आर्थिक सामाजिक कार्यभार पूरा गर्नका लागि ऐजेण्डा मिल्नेहरुको एउटा पार्टी बनाउनुपर्छ भनेर कम्युनिष्ट केन्द्र बनाउने परिकल्पना गर्यौं । पार्टी एकताको प्रक्रियामा हामी अगाडि बढ्यौं । तीन वर्ष बित्यो । तीन वर्षमा कहाँ पुगियो भनेको तघुमिफिरी रुम्जाटार भनेजस्तो भयो । ब्याक गियर पो लागेको रहेछ कि जस्तो भयो ! संबिधानको रक्षा र राजनीतिक प्रणालीकै विषय बहसको प्रमुख मुद्धा बन्न पुगे पछि पुन: वाम लोकतान्त्रिक मोर्चाको अवश्यकता पैदा भएको हो। राजनीतिक व्यवस्थामाथि आइपरेको संकट टार्नका लागि वाम लोकतान्त्रिक मोर्चाको अवधारणा बनेको हो । यो केपी ओलीजीको सरकारलाई हटाउनका लागि मात्र बनेको होइन् यसलाई हामी अगाडि बढाउँछौं ।

केपी ओलीले माओवादीसँग एकता गर्ने र माओवादी नेतृत्वलाई नेता कार्यकर्ताबाट विमुख बनाएर एक्लाउने रणनीतिमा लागेको र प्रचण्डले ओलीको स्वास्थ्यलाई हेरेर एकता गरेको र एमाले कब्जा गर्ने प्रयास गरेको आरोप छ । नेकपा विभाजन हुनुको पछाडिको कारण यही हो त ?

-कसको मनमा के थियो सब्जेक्टिब कुरा भयो । हामिले परिणामबाट हेर्नुपर्छ । परिणाममा आएर हेर्दा हामी जहाँ थियौं त्यही फर्किएर आयौं । कुन उदेश्यका लागि एकता गरिएको थियो र किन फेरी अलग हुने अवस्था आयो जरुर समिक्षाको विषय हुनु पर्दछ ।हुन सक्छ त्यो बेला उदेश्य पवित्र हुँदा हुँदै पनि राजनीतिक सर्तहरु पूरा गरेका थिएनौं कि । अथवा क्षणिक लाभका निम्ति उत्प्रेरित भएका थियौं वा कुनै एक पक्ष वा दुबै पक्ष उद्धेश्य प्रति ईमान्दार बन्न सकेनौ। मेरो विचारमा केपी ओलीजी राजनीतिक एजेण्डा र ब्यबहारिक प्रतिबद्धता दुबै हिसाबले ईमान्दार देखिनु भएन ।यसै कारण बिभाजित हुने अवस्था बन्यो।बाकि इतिहासले समीक्षा गर्ला । तर आर्थिक, सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता अझै छ भन्ने हामिलाई लाग्दछ।तपाईले भनेजस्तो नितान्त निजी स्वार्थका लागि गरिएको एकता थियो भन्ने होइन ।

यो एकता विचार र राजनीति मिलेर भन्दा पनि निश्चित नेताको स्वार्थका कारण भएको र नेकपा एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरुले नै उक्त एकतालाई ग्रहण नगरेको भन्ने चर्चा सुनिन्छ । वास्तविकता के हो ?

-कहिलेकाँही दुर्घटनाहरु पनि हुन्छन् । हामी ध्यान दिएर हिँड्दा हिँड्दै दुर्घटनाहरु भइरहेका हुन्छन् । यसलाई राजनीतिक दुर्घटनाको रुपमा लिनुपर्छ । दुर्घटना किन भयो भन्नेतर्फ समीक्षा हुनु जरुरी हुन्छ । यो पूरै अराजनीतिक मात्र थियो भन्ने होइन । यति त हामीले भन्नैपर्छ । हामी अलग–अलग राजनीतिक धार र विरासत बोकेर आएका थियौं । सबैमा एउटा एकीकृत बृहत्तर केन्द्र निर्माण गर्ने हुटहुटी थियो तर, पवित्र उदेश्य र चाहना मात्र प्रयाप्त हुदो रहेनछ। राम्रो उद्धेश्य हासिल गर्न राम्रो बिधि, सामुहिक र ईमान्दार प्रयासको खांचो हुदो रहेछ भन्ने ऐतिहासिक शिक्षा पनि प्राप्त भएको छ ।यसमा अरु भन्दा पनि स्वयम ओलीजीले नै एकताको महत्व र आधारहरुलाई लत्याउदै हिड्नु भयो।

पछिल्लो समय तपाईका पुराना सहयात्री विप्लव पनि मुलधारमा आएका छन् । केपी ओलीलाई एक्लाउनकै लागि तपाईहरुले पांच पार्टीको गठबन्धन पनि गर्नुभयो । अव के ओली बाहेकका पार्टीहरुबीच कम्युनिष्ट एकता हुने सम्भावना बढको हो ?

-होईन। केपी ओलीलाई एक्ल्याउनको लागि पांच पार्टीको गठबन्धन भएको भन्ने कुरा सही होईन नी।ओलीजीले असंबैधानीक ढंगले संसद बिघटन गरेपछि उत्पन्न राजनैतिक एवम संबैधानीक संकटबाट मुलुकलाई बचाउन गठबन्धन बनेको हो।मुलुकका लागि दुई वटा ऐतिहासिक कार्यभार छन् । एउटा जनयुद्ध जनआन्दोलनबाट प्राप्त भएका उपलब्धीहरु सहित संविधानको कार्यान्वयन र रक्षा गर्ने । दोस्रो, संविधानले परिकल्पना गरेको सामाजिक न्यायमा आधारित समाजवादउन्मुख राज्य ब्यबस्था निर्माण गर्ने। यो दुईवटा ऐतिहासिक कार्यभार पूरा गर्ने कुरामा ज–जसका बीचमा समान समझदारी हुन्छ तिनिहरु बीचमा एकता हुन्छ र हुनुपर्दछ पनी ।

आर्थिक सामाजिक रुपान्तरणको एजेण्डा कस्तो हुनुपर्दछ भन्ने विषयमा वामलोकतान्त्रिक मोर्चा भित्र भिन्न भिन्न दृष्टिकोणहरु पनि छन तर प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ भन्ने कुरामा भने हामी बिच एकरुपता रहेकोले गठबन्धन संभव भएको हो। साथै समाजवादको आधार तयार गर्न एकिकृत कम्युनिष्ट केन्द्र निर्माणको कुरा पनि गरिरहेका छौं। दुई वटै कार्यभार पूरा गर्ने कुरामा हामी जो–जो सहमत हुन्छौं तिनिहरुको बीचमा सहकार्य र एकता गर्दै जान्छौं ।हाम्रो चाहाना सबैलाई एक बनाउने छ र त्यसको लागि अपिल पनि गरिरहेका छौं ।तर, यो भावनाले मात्र हुने होइन रहेछ । एजेण्डामा हामी को–को सहमत हुन्छौं तिनिहरुबीच एकता हुन्छ ।

सर्वोच्च अदालतको निर्णयपछि नेकपा औपचारिक रुपमा विभाजन भएर एमाले र नेकपा माओवादी केन्द्रकै अवस्थामा पुग्यो । त्यसपछि माअ‍ोवादीले बसेर संगठन, पार्टीलाई नीति, विधिमा चलाउने भनेर निर्णय पनि गरेको थियो । तर, त्यसपछि पनि पार्टी कुनै नीति विधिमा चलेको देखिएन । पछिल्लो समय माओवादी फेरी पनिसत्ताको खेलमा लागेको भन्ने आरोप छ नि !

-सत्ताको खेल होईन।यसबिचमा हाम्रो ध्यान मुलुकलाई संबैधानीक संकटबाट बचाउने विषयमा केन्द्रित हुन पुगेको कारण संगठनात्मक काममा केहि पछि परेको छ। फेरी पनि हामी गम्भीर र निर्मम समीक्षा गर्दैछौं । हामीले कहाँकहाँ त्रुटी गर्यौं । सामान्यतयाः एउटा अन्तरविरोध प्रष्ट रुपमा देखिएको छ । मुलुक माओवादीले इन्जिनियरिङ गरेको, डिजाइन गरेको राजनीतिक एजेण्डामा हिडिरहेको छ । तर, माओवादी किनारामा जस्तो देखिएको छ । यो परिस्थिति किन भयो ? यसको समीक्षा माअ‍ोवादीका निम्ति अनिवार्य बन्न पुगेको छ ।हामि छिट्टै उपयुक्त निर्णय लिन्छौं।

उसो भए समस्या के हुन त ?
-हामीले हिजो यो परिवर्तनको औचित्य जनतालाई राम्ररी बोध गराएका थियौं । कसैले यो परिवर्तन क्रान्ति किन भनेर प्रश्न गर्यो भने हामीले स्पष्ट जवाफ दिन्थ्यौं – यो मुलुकमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय र लैंगिकलगायतका समस्याबाट जनतालाई मुक्त गर्नका निम्ति हो भनेर। राष्ट्रियता, लोकतन्त्रसँग सम्बन्धित जनताका आधारभूत अधिकार, राजनीतिक र आर्थिक अधिकारका प्रश्नहरुलाई समाधान गर्नका लागि भनेर भन्थ्यौं।यसो भन्दा परिवर्तन, क्रान्तिको औचित्य पुष्टि भएको जस्तो देखिन्थ्यो। तर आज ति समस्याको समाधान कसरी गर्ने उत्तर दिनुपर्ने भएको छ । हामीले हिजो भनिरहेको, उन्नत खालको लोकतन्त्र ब्यबहारमा अनुवाद गर्नुपर्ने ठाउँमा आइपुगेका थियौं । यहांनेर हामी चुक्यौं । जनताले बुझ्ने गरी ति प्रश्नहरुको जवाफ दिनुपर्ने आजको चुनौती हो ।

संगठनमा पनि हामी अलमल परेका छौं । हिजो हामीसँग क्रान्तिकारी पार्टी थियो । आन्दोलन गर्ने पार्टी थियो । शान्ति प्रक्रियामा आइसकेपछि सत्ता सञ्चालन गर्ने पार्टी निर्माण गर्नुपर्ने थियो । त्यतिबेला ३५ जनाको केन्द्रीय समिति थियो । ३५ जनाको केन्द्रीय समितिले पछिल्लो सत्ता संघर्षको नेतृत्व गर्न पर्याप्त भएन भन्ने बोध गरेर संगठनलाई ठूलो बनाउनतर्फ गयौं । तर,२०६५ सालमा संगठन विस्तार २०५९ सालमा बनेको केन्द्रीय कमिटीलाई पुर्नबहाली गर्यौं । ६५ सालमा आउने बेला हामीसँग लिडरसीपको नयाँ जत्था विकास भइसकेको थियो । जनताबाट अनुमोदित भएर ठूलाठूला, नयाँ नयाँ नेताहरु आइसकेका थिए । आन्दोलनले नयाँ सयौ नेताहरु स्थापित गरेको थियो । हामिले सगठनको नया स्वरुप दिन सकेनौं ।

यी दुई कारण– मुलुक माओवादीको एजेण्डामा अगाडि बढेको तर, माओवादी किनारामा परेको जस्तो देखिएको छ । यसमा कुनै व्यक्तिलाई दोष दिनु छैन । हामी स्थायी कमिटीका सदस्य दोषी हौं । हामीले सामूहिक रुपमा जिम्मेवारी बोध गर्दै सबै जना जवाफदेही हुनुपर्छ । हामी निर्मम भएर यी प्रश्नहरुको स्पष्ट जवाफ निकाल्छौं ।

माओवादी पार्टीको हिजो राजनीतिक नारा स्पष्ट थियो । संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता हुँदै अन्तरिम सरकार भन्ने तपाईहरुको नारा थियो । तर, पछिल्लो एक दशकयता माओवादीको राजनीतिक कार्य दिशा स्पष्ट भएन जस्तो तपाईलाई लाग्दैन ? अब माओवादीको मूल राजनीतिक कार्यदिशा के हो ?

-१७ औं शताब्दीमा बेलायत, १८ औं मा फ्रान्समा, जर्मनी १९ औं, चीनमा २० औं शताब्दीमा पूजीवादी क्रान्ती भए । तर, हामीले त्यो कार्यभार २१ औं शताब्दीमा पूरा गर्दैछौं । हाम्रो आजको कार्यभार जनक्रान्तीबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा गर्दै क्रान्तिका बाँकी कार्यभारहरुलाई पूरा गर्ने हो ।अर्को शब्दमा सामाजिक न्यायसहितको आर्थिक समृद्धि, सामाजिक रुपान्तरण, वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समस्याको समाधान गर्ने अहिलेकोे कार्यभार हो । हाम्रो रणनीति समाजवाद हो । हामी जनताको माझ प्रतिष्पर्धामार्फत यो कुरा सावित गर्छौं ।

मूलभूत कार्यदिशामा हाम्रो अलमल होइन । तर, त्यसलाई कार्यक्रमिक रुपमा कसरी प्रस्तुत गर्ने भन्ने विषयमा केहि समस्या भने हो । कसरी गर्ने भन्ने बारेमा अलमल हो । हामीले भन्यौं जनताले आत्मसात गरेनन् । हामीले जनतालाई बुझाउन सकेनउ । नत्र जनताले हामीलाई नै भोट हाल्नुपर्ने हो । तर, भोट हालेनन् । जनताले बुझ्ने भाषामा हामीले बुझाउन सकेका छैनौं । जनताले बुझ्ने भाषामा, बुझाउने तहमा हामी जनताको बीचमा जानुपर्नेछ । अर्को विषय युद्धको संगठन गरेर आयौं । बदलिएको परीस्थितिको आजको राजनीतिक संघर्षको अगुवाई गर्ने, नेतृत्व गर्ने त्यो साधनको रुपमा हाम्रो संगठनको समग्र नीति विधिमा नयाँपन चाहिएको छ । अब यी दुवै कुराहरुलाई हामी पूरा गर्छौं ।

माओवादीले उठाउँदै आएका मुद्दाहरु पछिल्लो समय ओझेलमा परेका छन् । माओवादीको पहिचान नै गुमेजस्तो देखिन्छ । माओवादीको पहिचान के हो ? तपाईको विचारमा माओवादीपूजीवादी कि समाजवादी पार्टी हो ?

-माओवादी पूँजीवादी पार्टी होइन समाजवादी पार्टी हो । यो कम्युनिष्ट पार्टी हो । साम्यवादमा यसले विश्वास गर्छ । समाजवाद यसको रणनीति हो । वर्गीय, जातीय, क्षेत्रीय र लैंगिक लगायतका समस्याहरु समाधान गर्दै समाजवादको समाजवादको आधार निर्माण गर्ने हाम्रो तत्कालीन कार्यभार हो । । समाजवाद कुनै पार्टी विशेषले चाहेर मात्रै लागू हुने कुरा होइन । यसको निम्ति समाजको विकासको वस्तुगत विकास र हाम्रो चाहनाकोे मेल हुनुपर्छ । आज नेपाली समाजको विकासको स्तर अनुसार समाजवादको आधार निर्माणको कुरा गरिरहेका छौं ।नेकपा माअ‍ोवादी कम्युनिष्ट पार्टी हो । समाजवादी कि पूँजीवादी कुरै नगनूस् यो कम्युनिष्ट पार्टी हो । साम्यवादमा विश्वास गर्छ ।

तर, आज यसले लागू गर्ने कार्यक्रम राष्ट्रिय पुजिको बिकास, सामाजिक न्यायको स्थापना र समाजवादको आधार निर्माण हो । यो नौलो खालको पूंजीवादले समाजवादको आधार तय गर्छ । यो अभिभारा कम्युनिष्ट पार्टीले मात्र पूरा गर्न सक्छ । अरु सबैलाई निषेध गर्ने हाम्रो उदेश्य होइन । हामि प्रतिस्प्रधा गछौं निषेध होईन । यसरि जनतामा रहेको अलमललाई पनि दूर गर्छौं । पार्टी र जनतामा रहेको ग्यापलाई यसले ‘फिल’ गर्दै जानेछ । र माओवादी मुलुकको एउटा नेतृत्वदायी पार्टीको रुपमा पुनःस्थापित गर्नेछ ।

तपाईहरुको पार्टी पछिल्लो समय सत्ता समीकरणमा निर्णायक बन्दै आइरहेको छ । सरकार बनाउन सक्ने र सरकार ढाल्न सक्ने हैसियत पनि माओवादीले बनाएको छ । तर, माओवादीले आफ्नो स्वतन्त्र पहिचान बनाउन सकेन भन्ने आरोप लागेको छ । त्यसमा के भन्नु हुन्छ ?

-तपाईको कुरामा म सहमत छु । सत्ता संघर्षमा माओवादी च्याम्पियनजस्तो देखियो । त्यो किन भयो ? माअ‍ोवादी गुमाउन पनि तयार भयो । अरुभन्दा माओवादीले त्याग गर्न तयार भएको छ । २०६५ सालमा सत्ता गठबन्धनभित्र समस्या पर्यो । प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्यो । अलिकति ट्र्याक अन्तै गयो भन्ने भएपछि झलनाथजीलाई प्रधानमन्त्री बनाउँ भनेर भनियो । समयक्रममा केपी ओलीजीलाई प्रधानमन्त्री बनाउँ भन्ने भयो । समयक्रममा माओवादी र एमाले मात्र मिलेर चुनाव हुने, संविधान कार्यान्वयन हुने छाँट देखिएन । संविधान कार्यान्वयनका निम्ति संयुक्त वाम मोर्चासँग सहकार्य नगरी चुनाव हुने छाँट देखिएन । त्यो बेला संविधान कार्यान्वयन गराउनुपर्ने । माओवादीले मुलुकको स्वार्थलाई केन्द्रमा राख्यो । संविधान कार्यान्वयन गराउने विषयलाई केन्द्रमा राख्यो र वाम लोकतान्त्रिक मोर्चा बनाउन निष्कर्षमा पुग्यो । संविधान कार्यान्वयन र निर्वाचन गर्नका लागि कांग्रेसलाई नेतृत्व दिएर भएपनि सरकार बनाउनुपर्छ भनेपछि त्यो पनि सम्भव भयो ।

आर्थिक, सामाजिक रुपान्तरण, समाजवाद मुख्यध्येय बनाउनेहरु अब एक ठाउँमा आएर समाजवादको आधार निर्माण गर्ने बाटोमा देशलाई हिँडाउन पाए राम्रो हुन्थ्यो भन्ने माओवादीले सोच्यो । माआवादीलाई सरकार बनाउनूस् भनेर अफर नआएको होइन । माओवादीले ओलीजीलाई अगाडि सारेर नेतृत्व प्रदान गर्यो । यसपछि अहिले यो कोर्षलाई बचाउन देउवाजीलाई अगाडि सार्यो । तपाईले सत्ता संघर्ष मात्र बुझ्नु भएको छ नि । राष्ट्रिय हितलाई केन्द्रमा राखेर माअ‍ोवादीले जुन पोइन्टमा सोच्यो । त्यहाँ सफलता हाँसिल गरेकै हो ।
जहासम्म अर्को पाटो स्वतन्त्र पहल कदमी स्थापित गर्ने कुराकोे छ – यो त्यतै जाने बाटो हो ।राष्ट्रिय राजनीतिक घटनाक्रमहरुमा माओवादी केन्द्रले नेतृत्वदायी भूमिका खेलेको जस्तो देखिन्छ । तर, पार्टी चाँही तेस्रो ! यो एउटा अन्तरविरोध छ । सामान्यतयाः माओवादी राष्ट्रिय हितमा साेंच्र्छ भन्ने घटनाक्रमले पुष्टि गरेको छ । । किनभने आफूले गुमाएर पनि राष्ट्र जहाँ संकटमा परेको हुन्छ हल गर्न पहल गरिरहेको हुन्छ । यो माओवादीको पहिचान हो नि ।

माओवादी आन्दोलनमा सुरु देखि लागेका धेरै नेता कार्यकर्ताहरु मूलधारको पार्टीमा हुनुहुन्न । जति मूलधारको पार्टीमा हुनुहुन्छ त्यो भन्दा बढी बाहिर हुनुहुन्छ । त्यो परिस्थिति किन सिर्जना भयो ?

-त्यो परिस्थिति किन आयो भन्ने विषयमा पार्टीभित्र बसेर समीक्षा गर्नुपर्ने थियो । तर, साथीहरु बाहिरिँदै हिँडिरहनु भएको छ । तर,साथीहरु लिक नै छोडेर हिँडिरहनु भएको छ । अझ प्रतिगमणलाई पो साथ दिन थाल्नु भयो ।उहाँहरु फर्किएर आएदेखि अझै राम्रो हुन्छ । पार्टीभित्र नमिल्दा विषयमा बसेर छलफल गर्न सकिन्छ । अब बस्ने बैठकहरुमा यी नै विषयमा छलफल गर्छौं । हामी विधिको कुरा गर्छौं । पार्टी कुन विधिमा सञ्चालित गर्ने? व्यवस्थामा परिवर्तन आयो तर, राजनीतिक पार्टीहरुको लोकतान्त्रिकरण वा जनवादीकरणको विषय पछाडि परेको छ ।

माओवादीभित्र जसले निरन्तर लाभ पाइरहेका थिए । उनीहरुले नै लाभ लिइरहेको अवस्था छ । तपाईहरुको अध्यक्ष प्रचण्डले सवै सांसदहरु मन्त्री बन्न दबाव दिइरहेको खुलासा समेत गर्नुभयो । पार्टीभित्र उहाँले भनेजस्तो अवस्था भएको हो ? तपाईहरुले अबको मन्त्रिमण्डल छनौट गर्दा के कुरालाई प्राथमिकतामा राखेर जिम्मेवारी दिनुहुन्छ ?

-उहाँले त्यसो नभनेको भए हुन्थ्यो जस्तो लाग्छ । अभिव्यक्ति हलुका जस्तो लाग्यो । प्रतिनिधिसभाका ४९ जना सदस्यहरु आकांक्षी छन् भन्ने सही होइन । स्थायी कमिटीमा अघिल्लो पटक क्याबिनेटमा रहेर आएका म लगायतका साथीहरुले आकांक्षा नराख्ने प्रस्ताव राखेका छौं । अघिल्लो क्याविनेटमा नभएका कतिपय साथीहरुले पनि आकांक्षा राख्नु भएको छैन् । अर्को कुरा यो समस्याको समाधान पहिले विधि प्रक्रियाबाट नगर्दाको परिणती पनि हो । यी विषयहरु स्थायी समितिबाट हल हुन्छन् । स्थायी समितिले निर्णय गरेर टुंगो लगाउने कुरा स्वयम अध्यक्ष कमरेडले नै भन्नु भएको छ ।

तपाईहरुको पार्टी नीतिगत ढङ्गले नचलेका कारण अहिले खुम्चिँदै गएको भन्छन् नि ? महाधिवेशन भएकै छैन । ३० बर्ष देखि एउटै व्यक्ति नेतृत्वमा हुनुहुन्छ । यो त राजतन्त्र जस्तो सिस्टम भयो नी । पार्टीमा पुस्तान्तरण भएन भन्ने आरोप आरोप छ नी ?

-यो माओवादीको कुरा मात्र होइन । मैले लोकतान्त्रिकरणको कुरा गरेको हो । नेपालको परिप्रेक्षमा हेर्दा सबै पार्टीहरुभित्र यो समस्या देखिएको छ ।कम्युनिष्ट पार्टीले अवलम्बन गर्दै आएको जनवादी केन्द्रीयताको सिद्धान्त र विधि मूल रुपमा केन्द्रीयतामुखी र अनुशासनमुखी छ । तर, नेपालका कम्युनिष्ट पार्टीहरुले लोकतन्त्रको कन्सेप्टलाई जनवादमुखी बनाएका छन । हामीले समाजको लोकतन्त्रलाई जनवादमुखी बनायौं । जनवादको नेतृत्व गर्ने पार्टी केन्द्रीयतामुखी मात्र भएर पुग्दैन । यसलाई पुस्ताको रुपमा मात्रै नहेरौं । यो प्रणालीमा समस्या छ । प्रणालीमा सुधार गर्दा पुस्ताको कुरा स्वतः समेटिन्छ ।

प्रतिक्रिया दिनुहोस