सान्जेन र रसुवागढी जलविद्युतको शेयर खुल्दै,यस्तो छ आयोजनाको अवस्था


काठमाडौं– जनताको जलविद्युत कार्यक्रमअन्र्तगत थप भएका सान्जेन र रसुवागढी जलविद्युत आयोजनाको शेयर वैशाख पहिलो साताबाट खुल्ने भएको छ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको वैठकले रसुवा जिल्लामा निर्माणाधिन १४.८ मेगावाटको सान्जेन (माथिल्लो) तथा ४२.५ मेगावाटको सान्जेन जल विद्युत आयोजना एवं रसुवागढीमै निर्माणाधिन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनालाई जनताको जलविद्युत कार्यक्रममा समावेश गर्ने निर्णय गरेको थियो ।

उर्जामन्त्री पुनले दुवै कम्पनीका कार्यकारी अधिकृतको उपस्थितीमा मंगलवार दिउंसो शेयर जारी गर्ने सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना समेत गरेका छन् ।

बैसाख पहिलो साताबाट सर्वसाधारणको लागि खुल्ने शेयरमा न्युनतमा ५० कित्ता र अधिकतम २ हजार कित्तासम्म आवेदन गर्न सकिने सान्जेन जलविद्युत कम्पनीका सिईयो किरण कुमार श्रेष्ठले जानकारी दिए ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेडद्धारा निर्माणाधिन १४.८ मेगावाटको सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति करीब ७७ प्रतिशत भैसकेको छ । यो आयोजना आगामी एक बर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । त्यसैगरी ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति करीब ७० प्रतिशत रहेको र यो आयोजना पनि आगामी डेढ बर्ष भित्र संचालन गरिने लक्ष्य रहेको छ ।

यसैगरी रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा निर्माणाधिन १११ मेगावाटको रसुवागढी जल विद्युत आयोजनाको समग्र भौतिक प्रगति करीब ७० प्रतिशत रहेको छ । यो आयोजना पनि आगामी बर्ष भित्र संम्पन्न गरिने लक्ष्य रहेको रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडका सिईयो माधव कोइरालाले जानकारी दिए ।

सान्जेन जलविद्युत कम्पनी लिमिटेड तथा रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडद्धारा निर्माणाधिन यी आयोजनाहरुको निर्माणको लागि संस्थापक संस्थाहरुको ५१ प्रतिशत तथा कर्मचारी संचयकोषका संचयकर्ताहरु एवं संस्थापक संस्थाका कर्मचारीहरुको लागि छुट्याईएको २४ प्रतिशत गरी जम्मा ७५ प्रतिशत शेयर निष्काशन भै चुक्ता भई सकेको छ ।

बांकि २५ प्रतिशत मध्ये सर्वसाधारणलाई छुट्याईएको १५ प्रतिशतले हुन आउने प्रति शेयर रु १०० को सान्जेन जलविद्युत कम्पनी लिमिटेडको ५४ लाख ७५ हजार कित्ता बराबरको तथा रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडको १ करोड २ लाख ६३ हजार १५० कित्ता बराबरको साधारण शेयर जारी गर्ने तयारी भएको हो ।

कम्पनीको शेयरको लागि यस भन्दा अघि आवेदन दिई यस भन्दा अघि नै बाडफांडमा समाबेश भैसकेका तथा आयोजना प्रभावित रसुवा जिल्लाबासीहरुलाई छुट्टै शेयरको ब्यबस्था रहेकोले यस आवेदनमा समावेश हुन नपाउने सान्जेन जलविद्युत कम्पनीका सिईयो किरण श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement