शंखधर पार्कमा पहिलो अन्तरिक्ष यात्री युरी


काठमाडौं – काठमाडौंको शंखधर पार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको पोशाकमा कुममाथिको भाग अनावरण गरिएको छ । गागरिनको ८५ औं बार्षिकोत्सवको अवसरमा पारेर बुधबार महानगरका प्रमुख बिद्यासुन्दर शाक्य र अन्तरिक्ष यात्री भिक्टोर पेट्रोभिच सभिन्खले संयुक्त रुपमा प्रतिभा अनावरण गरेका हुन् ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख शाक्यले शंखपार्कलाई मनोरञ्जन लिने मात्र होइन अध्ययनका लागि पनि उपयुक्त बनाइने बताए । रसियासँग नेपालको कुटनीतिक सम्बन्धबाट आपसी सिकाइ आदानप्रदान गर्ने मौका प्रदान भइरहेको छ । रसियामा धेरै नेपाली बिद्यार्थीहरु अध्ययन गरिरहेका छन् । यसबाट कला, ज्ञान र सीपको प्रवर्धनमा टेवा पुगेको छ । प्रमुख शाक्यले आपसी हित र गागरिनको जीवनले जोडेको अन्तरराष्ट्रिय सम्बन्धमा चर्चा गर्दै भने -२७ बर्षको उमेरमा अन्तरिक्षको यात्रा गरेर ३४ बर्षको उमेरमा मृत्युवरण गरेका गागरिनको जीवन पद्धति युवा शशक्तिकरणको उदाहरण हो ।

नेपालको वृहत्तर बिकासका रसिया प्रबिधिमा सहयोग गर्न तत्पर छ । हामीसँग भएका प्रबिधिजन्य सिकाइ नेपाललाई दिन चाहन्छौं । कार्यक्रममा बोल्दै अन्तरिक्ष यात्री भिक्टोरले- एकीकृत बिकासमा यस्तो प्रकारको सहयोग उपयोगी हुने बिश्वाश व्यक्त गरे । उनले नेपाल र रसियाको कुटनीतिक सम्बन्धबाट दुवै देशले लाभ लिन सक्ने बताउँदै नेपालका लागि रसियाका कार्यवाहक राजदूत युरी युझाननोभले, काठमाडौं महानगरसँग साझेदार बन्न पाएकोमा खुशी व्यक्त गरे । त्यस्तै रसियन कल्चर सेन्टर फर साइन्स एण्ड कल्चरका निर्देशक युलिया एन्ड्रोशोभाले आपसी सम्बन्ध बिस्तारमा सेन्टरले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

साढे ६ फिट उचाइ र ५ फिट चौडाइमा निर्माण गरिएको अक्षले घरेको पृथ्वी र त्यसको छेउमा ठड््याइएको स्तम्भमा गागरिनको कुम माथिको मूर्ति राखिएको छ । बाहिरी डाँछी अपा इटाले नेपालीपन प्रदान गरिएको यो शैली महानगरकी आर्किटेक्ट प्रमिला पराजुलीले बनाएका हुन् । यसलाई सुन्दरता प्रदान गर्न स्तम्भ र अक्ष अगाडि सानो ठाउँमा गमला र फूल राखिएको छ । यो संरचना तयार पार्न करीब ३ लाख १५ हजार रुपैयाँ लागेको आर्किटेक्ट पराजुलीले बताए । यसमा राखिएको मूर्ति भने रसियन कल्चर सेन्टरबाट उपहारस्वरुप प्राप्त भएको हो ।

पहिलो अन्तरिक्ष यात्री गागरिनले सन् १९६१ अप्रिल १२ तारिखका दिन अन्तरिक्षको यात्रा गरेका थिए । त्यस यात्राका क्रममा उनले १०८ मिनेट पृथ्वीको परिक्रमा गरे । यस यात्राका लागि त्यहाँका २०० जना बिमान चालक छनौट भएका थिए । तीमध्ये कठिन समयमा जटिल खालको तनाव र चाप थेग्न सक्ने भएकोले गागरिन यात्राका लागि चयन भएका थिए । ९ मार्च १९३४ मा रसियामा जन्मिएका गागरिनको सन् १९६८ मार्च २७ तारिखका दिन मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement