एमाले–कांग्रेसबीच सहमतिले अब बीआरआई कार्यान्वयन सहज हुनेछ : महासचिव पोखरेल

एमाले–कांग्रेसबीच सहमतिले अब बीआरआई कार्यान्वयन सहज हुनेछ : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ दल एमाले र नेपाली कांग्रेसबीच सहमति भएकाले अब चिनियाँ सहयोगको बीआरआई परियोजना कार्यान्वयन सहज हुने भएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै उनले बीआरआईको कार्यान्वयका सन्दर्भमा नेपालका प्रमुख राजनीतिक दलहरू कांग्रेस र एमालेले साझा धारणा बनाउने काम गरेका जानकारी दिए ।

‘विगतमा बीआरआईका सन्दर्भमा नेपालले एमओयू हस्ताक्षर गरेपनि परियोजनाहरू अघि बढ्न सकेको थिएनन्,’ उनले भने, ‘अब बीआरआई अन्तर्गतको चिनियाँ सहयोग परिचालनका सन्दर्भमा साझा फ्रेमवर्क तयार भएसँगै परियोजना कार्यान्वयनमा सहजता हुनेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा बीआरआई सहमतिले सार्थकता पाएसँगै नेपालको विकासमा चिनियाँ सहयोग परिचालनमा तीव्रता आउने उनले बताए । ‘बीआरआईका सन्दर्भमा प्रमुख दलहरू बीचको सहमतिले अन्तर्राष्ट्रिय मामिलामा साझा राष्ट्रिय दृष्टिकोण तयार गर्ने सुखद प्रक्रिया आरम्भ भएको मान्न सकिन्छ,’ उनले लेखेका छन् ।

एमाले र कांग्रेसबीच बीआरआईअन्तर्गत ऋण नलिई अनुदान मात्रै लिएर परियोजना अगाडि बढाउने सहमति भएको छ ।