काठमाण्डु– एमाले महासचिव शङ्कर पोखरेलले भोटेकोशीमा आएको बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै त्यसबाट भएको क्षतिको क्षतिपूर्ति नेपालले विकसित मुलुकहरूबाट माग्नुपर्ने बताएका छन् ।
उनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे पनि त्यसको असर भने हिमाली मुलुकका रूपमा गम्भीर रूपमा व्यहोर्नुपरेको बताए । विकसित राष्ट्रहरूको औद्योगिक गतिविधिका कारण बढेको कार्बन उत्सर्जनको परिणाम नेपालमा बाढी, पहिरोजस्ता विपद्का रूपमा देखिएको उनको भनाइ छ ।
एमाले विशेष सङ्गठन कमिटीले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा पोखरेलले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण नेपालले हरेक वर्ष ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गरे ।
‘विकसित देशहरुले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशिल देशहरुमा परेको छ । त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ’, उनले भने ।
पोखरेलले वातावरणीय संकट निम्त्याउन बढी भूमिका खेलेका औद्योगिक राष्ट्रहरूले त्यसको असरबाट पीडित नेपाललाई क्षतिपूर्ति दिनुपर्ने विषयलाई उठाए ।
यसैबीच, उनले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एमालेका नेता–कार्यकर्ता र जनसङ्गठनहरू परिचालन भएको बताए । बाढी आएलगत्तै प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत वितरणको कामलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।




प्रतिक्रिया